दार्चुला । बैतडीको सिगास गाउँपालिकाकी १६ बर्सिया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् ।
काका र हजुरबुवा नाता पर्नेबाट किशोरी बलात्कारमा परेकी हुन् । बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।
पीडित किशोरीका आफन्तको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।
३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो । किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो । त्यसपछि परिवारले स्थानीय प्रहरी चौकीमा खबर गरेका थिए ।
किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।




