दार्चुला । चालु आर्थिक वर्षमा दार्चुलाका नौँ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १६ करोड ७४ लाख ८९ हजार बजेट प्राप्त भएको छ । उक्त बजेटबाट जिल्लाभरीका तीन हजार दुई सय ४० जना बेरोजगारलाई रोजगारी प्राप्त हुने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि दार्चुलामा सबै भन्दा बढी अनुदान नौगाड गाउँपालिकाले पाएको छ । रोजगार ब्यवस्थापन सूचना प्रणाली (इएमआइएस ) मा मङ्सिर १५ गते भित्र प्रविष्ट गरेको बेरोजगार ब्यक्तिहरुको संख्याको आधारमा गाउँपालिका तथा नगरपालिकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अनुदान उपलब्ध गराइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा अधिकृत किसान न्यौपानेले जानकारी दिनुभयो । एक सय दिन बराबरको रोजगारीका लागि देशभरिका छ सय ८८ स्थानीय तहलाई तीन अर्ब ४४ करोड ७० लाख बजेट अनुदान उपलब्ध गराएको छ । श्रमिकका लागि दैनिक न्युनतम पारिश्रमिक दर पाँच सय १७ रुपिया निर्धारण गरिएको छ ।
दार्चुलाबाट सबै भन्दा बढी बेरोजगारहरुको तथ्याङ्क नौगाड गाउँपालिकाले रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेकोले सबै भन्दा बढी बजेट नौगाड गाउँपालिकालाई प्राप्त भएको छ, भने सबै भन्दा कम बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेकोले अपिहिमाल गाउँपालिकालाई सबै भन्दा कम बजेट प्राप्त भएको छ । नौगाड गाउँपालिकाले बेरोजगार ब्यक्तिहरुले भरेको तथ्याङ्कका आधारमा दुई हजार पाँच सय ९७ जनाको तथ्याङ्क प्रविष्ट गरेकोमा पाँच सय ६२ जना छनोट भएका छन्, भने दुई करोड ९० लाख ५६ हजार बजेट अनुदान प्राप्त भएको छ । दुहुँ गाउँपालिकाले दुई हजार तीन सय ३९ जनाको तथ्याङ्क प्रविष्ट गरेकोमा पाँच सय १४ जना कार्यक्रमका लागि छनोट गरिएका छन्,भने दुई करोड ६५ लाख ७४ हजार रकम अनुदान प्राप्त भएको छ ।
शैल्यशिखर नगरपालिकाले एक हजार आठ सय ५५ जनाको तथ्याङ्क प्रविष्ट गरेको आधारमा चार सय २५ जनालाई कार्यक्रमका लागि छनोट गरिएको छ । छनोटका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रमले शैल्यशिखर नगरपालिकालाई दुई करोड १९ लाख ७३ हजार रकम अनुदान उपलब्ध गराएको छ । महाकाली नगरपालिकाले एक हजार सात सय आठ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा तीन सय ९८ जना छनोट भएका छन् । छनोटका आधारमा महाकाली नगरपालिकालाई दुई करोड पाँच लाख ७७ हजार रकम अनुदान प्राप्त भएको छ ।
मार्मा गाउँपालिकामा एक हजार चार सय जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा तीन सय ४१ जना छनोट गरिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मार्मा गाउँपालिकामा एक करोड ७६ लाख ३० हजार बजेट अनुदान प्राप्त भएको छ । व्यास गाउँपालिकाले एक हजार तीन सय ६५ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा तीन सय ३४ जना छनोट भएका छन् । छनोटका आधारमा ब्यास गाउँपालिकालाई एक करोड ७२ लाख ६८ हजार रकम अनुदान प्राप्त भएको छ । मालिकार्जुन गाउँपालिकाले एक हजार ६५ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा दुई सय ७९ जना छनोट भएका छन् । छनोटका आधारमा मालिकार्जुनमा एक करोड ४४ लाख २५ हजार रकम अनुदान प्राप्त भएको छ ।
लेकम गाउँपालिकाले सात सय चार जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा दुई सय १२ जना छनोट भएका छन् । बेरोजगार ब्यक्ति छनोटका आधारमा लेकम गाउँपालिकालाई एक करोड नौँ लाख ६१ हजार रकम अनुदान प्राप्त भएको छ । अपिहिमाल गाउँपालिकाले पाँच सय दुई जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेकोमा एक सय ७५ जना छनोट भएका छन् । बेरोजगार ब्यक्ति छनोटका आधारमा अपिहिमाल गाउँपालिकामा ९० लाख २५ हजार रकम प्राप्त भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीका लागि बेरोजगार ब्यक्तिहरु छनोट प्रधानमन्त्री रोजगार कार्यक्रमलले नै गर्ने गरेको छ । वडाबाट संकलन भएका बेरोजगार ब्यक्तिहरुका फाराम रोजगार संयोजकले रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमले प्राथमिकताका आधारमा बेरोजगार व्याक्तिहरु छनोट गर्ने गरेको लेकम गाउँपालिकाका रोजगार संयोजक गोकर्ण जोशीले जानकारी दिनुभयो ।




