दार्चुला । नेपाल सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेपछि देशभरी चुनावको तयारी शुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाले बिहीबार (आज) मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।
विहिबार कार्यालय समयमा सबै स्थानीय तहका केन्द्रहरुमा मतदाता नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशन भएपछि यही माघ १८ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउनका लागि समय तोकिएको उहाँले बताउनुभयो ।
प्रत्येक स्थानीय तहका केन्द्रमा सहायक नामदर्ता अधिकारीको कार्यालय स्थापना गरिएकाले सम्बन्धित ठाउँमा गएर त्रुटी सच्याउन सकिने उहाँले बताउनुभयो । यस्तै प्रकाशित नामावलीमा कुनै झुटा विवरण दिई नामावलीमा नाम समावेश भएको पाइएमा यही माघ १६ र १७ गते उजुरी दिन सक्ने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै कुनै मतदाताको नामावली एकभन्दा बढी स्थानमा समावेश भएकोमा पाइएमा यही माघ १६ देखि १८ गते सम्म निवेदन दिन सकिने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा लोकराज ओझा, शैल्यशिखर नगरपालिकामा पुष्करसिह धामी, नौगाड गाउँपालिकामा मदनसिह ठगुन्ना, लेकम गाउँपालिकामा अभैराज अवस्थी, महाकाली नगरपालिकामा माधव प्रसाद भट्ट, अपिहिमाल गाउँपालिकामा नवराज कलौनी, दुहुँ गाउँपालिकामा रामसिह धामी, व्यासँ गाउँपालिकामा ज्ञानसिह कुवर तथा मार्मा गाउँपालिकामा अक्बरसिह धामीलाई सहायक नाम दर्ता अधिकारीको रुपमा खटाइएको छ ।




