दार्चुला । देशलाई चीन र भारतसँग जोड्ने गरी दार्चुलाको पश्चिम क्षेत्रमा निर्माणाधीन दार्चुला–टिंकर सडक रणनीतिक हिसाबले महत्त्वपूर्ण छ । यसको निर्माण तीव्र गतिले अघि बढाउने घोषणा राज्यले डेढ दशकअघि नै गरेको हो । त्यसअनुसार अनेक पटक ठेक्का लागेको पनि छ तर काम तिब्र गतिमा अघि बढेको छैन ।

महाकाली लोकमार्गअन्तर्गत (४२६ किमि) अन्तर्गत पर्ने टिंकर सडकको हाल हेर्दा यस्तो लाग्छ, सरकारले आफ्नै वाचा भुलेको छ । बाह्र वर्षअघि खन्न थालिएको १ सय ४० किलोमिटर यो सडकको हालसम्म ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । त्यही पनि असारदेखि काम ठप्प छ । दार्चुला–टिंकर सडक योजनाले २०६५ सालमा सदरमुकाम खलंगाबाट ट्र्याक खोल्न थालेको थियो ।

व्यास गाउँपालिका–२ तोसरपानीमा गत असार दोस्रो साता ट्र्याक खोल्ने क्रममा माथिबाट खसेको चट्टानले डोजर च्यापिएपछि रोकिएको काम फेरि सुरु भएको छैन । फेरि ट्र्याक खोल्न सुरु नभएको व्यास–२ का नन्दनसिंह धामीले बताएउनुभयो। सुरुमा माथिबाट सडकको चट्टानी भूभाग कटिङ गरेको र पछि तलबाट कटिङ गर्दा माथिको भाग खसेर डोजर च्यापिएको हो, उहाँले भन्नुभयो, अहिलेसम्म डोजरसमेत निकालिएको छैन ।

सुन्सेरादेखि घाटीबगडसम्मको सडक खण्डमा २०७० असार २३ मा अमर सूर्य जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । २०७१ असोज २२ सम्म १ लाख ९४ हजार घनमिटर कटिङ गर्ने सम्झौता भए पनि अझै करिब डेढ लाख घनमिटर कटिङ गर्न बाँकी रहेको दार्चुला–टिंकर सडक योजनाका इन्जिनियर एवं सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिनुभयो । पटक–पटक गरी ठेक्काको म्याद २०७७ मंसिर २० सम्म थपिएको थियो ।

अहिले पनि खासै काम भएको छैन । उक्त ठेक्काको मुख्य कार्य चट्टा कटिङ हो । ठेकेदारले कटिङ छाडेर तारजाली राख्ने काम मात्र गरिरहेको उहाँको भनाइ छ । अहिलेसम्म यो ठेक्का रद्द गरी नयाँ ठेकेदारलाई काम सम्पिनुपर्ने स्थानीयको माग छ । ‘एउटै ठाउँमा यत्तिको समय खर्च गरेपछि योजनाको काममा प्रगति कम देखिएको हो, स्थानीय हरकसिंह कार्कीले भन्नुभयो ।

सडक योजना कार्यालयले राताकाठा क्षेत्रमा ठेकेदारले नै ढिलासुस्ती गरेकाले सडकको ट्र्याक खोल्नमा समस्या देखिएको बताउँदै आएको छ । ठेकेदार भने कार्यालयले समयमा विस्फोटक पदार्थ उपलब्ध नगराएकाले समयमै काम गर्न नसकिएको बताउँछन् । सुरुमा ठेकेदारको ढिलासुस्ती र बीचका ३/४ वर्ष विस्फोटक पदार्थ उपलब्ध नहुँदा टिंकर सडकको कार्यप्रगतिमा ढिलासुस्ती आएको योजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो ।

ठेकेदारको ढिलासुस्ती र सडक कार्यालयको लापरबाहीले राज्यको प्रमुख प्राथमिकतामा पर्नुपर्ने सडक निर्माणको गति धिमा छ । पश्चिम क्षेत्रको त्रिदेशीय नाकाका रूपमा विकास हुनुपर्ने सडक निर्माणमा कसैले चासो नदिँदा ढिलाइ भएको स्थानीय बताउँछन् । कार्यालयले ठेकेदार र ठेकेदारले कार्यालयलाई दोष लगाएर पन्छिने गरेको व्यासका समाजसेवी जयसिंह धामीले बताउनुभयो । काम नगर्ने ठेकेदार या प्रमुखलाई कारबाही गरिएको भए यति ढिला हुने थिएन, उहाँले भन्नुभयो ।

योजना कार्यालयका अनुसार आगामी असार मसान्तसम्म सदरमुकाममाथिका सबै ठेक्काअनुसारका काम सक्ने गरी ठेकेदारलाई परिचालन गरिएको छ । तर यो सडकको सुन्सेरा–माल खण्डमा अझै काम सुरु नभएको स्थानीयले बताउनुभयो । मुख्य ठेकेदारले पेटीमा काम गर्न दिएपछि ढिला भएको सूचना अधिकारी साहले बताउनुभयो ।

अबको केही दिनमा मुख्य ठेकेदार आएर द्रुतगतिमा निर्माण गर्ने जनाइएको छ । शाहका अनुसार लास्कु खोला र निजङगाड खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । ६ वर्षदेखि निर्माणाधीन पुलहरू यसै आवको असारसम्म सक्ने गरी काम भइरहेको छ । सडक सुधारको काम हिकिलाको पोखराभीर, विजयपुर, तङलेभीर, चुकपानी र कोरकट्र्या भीरमा असारसम्म कटिङ सक्ने गरी सुर्मासरोवर निर्माण सेवाले काम गरिरहेको छ ।

अझै पनि आयोजना कार्यालयले महाकाली लोकमार्गको टिंकर खण्डलाई भन्दा तल्लो जहाँ सडकको पहुँच पुगेको क्षेत्रलाई प्राथमिकता दिएर निर्माण कार्य गरिरहेको छ । विगत वर्षमा यो सडक योजनामा विनियोजन भएको बजेटमध्ये ६० प्रतिशत फ्रिज भएको छ । तीन/चार वर्षयता विभागले यो सडक खण्डमा विनियोजन गरेको बजेट खर्च नहुने देखिएपछि तान्ने गरेको छ ।

चार वर्षअगाडि टिंकर सडकलाई महाकाली कोरिडोर (हाल लोकमार्ग) मा गाभिएपछि माथिल्लो सडकको निर्माण प्रभावित भएको व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताउनुभयो । अहिले ४ सय २६ किलोमिटर करिडोरमध्ये करिब डेढ सय किलोमिटर ट्र्याक खोलिएको तथ्यांक योजनाले देखाएको छ । यो तथ्यांकलाई आधार मान्दा माथिल्लोभन्दा तल्लो सडकलाई योजना कार्यालयले प्राथमिकता दिएको देखिन्छ ।

टिंकर सडकको कोठेधारभन्दा माथिको ८७ किलोमिटर खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । गत वैशाख २४ गते सरकारले घाटीबगडमाथिको सडक खण्डको ट्र्याक खोल्ने काम सेनालाई दिएको हो ।

सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुईवटा क्याम्प राख्नका लागि ठाउँ हेरिसकेको र सुन्सेरामा जग्गा भाडा लिन स्थानीय सित सम्झौता भइसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो । यसका लागि काठमाडौंबाट नेपाली सेनाको विकास निर्माण निर्देशनालयको करिब एक सय जनाको सैनिक टोली दार्चुला पुगेको छ । -कान्तिपुरबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?