दार्चुला । बैतडीको दशरथचन्द नगरपालिकाले शहीद दिवसको अवसरमा हाज सार्वजनिक बिदा दिएको छ ।
शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा बिशेष कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाइने तयारी भएकाले नगरक्षेत्रभित्र बिदा दिने निर्णय भएको हो ।
गत मंगलबार बसेको कार्यपालिकाको निर्णय अनुसार शहीद दिवसका दिन बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।आज नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
यसैबीच शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा आज विविध कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाउने तयारी भएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको भवन सुन्दरखालीबाट र्याली सहित शहीदको जन्मघरमा पुग्ने र त्यहाँको श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
शहीद दशरथचन्दको जन्मघर बस्कोटमा अहिले पाहुनाहरुका लागि बसोबासको व्यवस्था समेत गरिएको छ । शहीद दशरथचन्दको बारेमा जानकारी लिन चाहने महानुभावहरुलाई उहाँकै जन्मघरमा बसोबासको व्यवस्था समेत गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो । तत्कालिन राणा शासनको विरोधमा उत्रिएका शहीद दशरथचन्दलाई काठमाण्डौंको शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।





प्रतिक्रिया