दार्चुला । शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचमा उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजना वरपरको क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का लगाइएको तीन वर्षसम्म पनि विद्युतीकरण पुरा हुन नसक्दा अझै यो क्षेत्र अन्धकार छ ।
२०७४ साल माघ २७ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्दा चमेलिया प्रभावित क्षेत्र वरिपरी तीन महीनाभित्रै विद्युतीकरण हुने बताएपनि तीन वर्षसम्म काम पुरा नहुँदा अन्धकारमा बस्नुपरेको विद्युत विस्तार संघर्ष समितिका संयोजक पदम खडायतले जानकारी दिनुभयो ।
त्यतिबेला प्रभावित क्षेत्रका स्थानीयवासीले प्रभावित क्षेत्रमा विद्युत् नपु¥याई उद्घाटन गर्न नहुने आवाज उठाएपछि विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया वरपरको क्षेत्रमा तीन महिनाभित्रै विद्युतीकरण गरिने बताउनुभएको थियो । निर्माण शुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको चमेलियाले सुदूरपश्चिममा लोडसेडिङ अन्त्य गर्न भुमिका खेलेपनि चमेलिया वरपरका दार्चुला र बैतडीका स्थानीयवासीले विद्युत् बाल्न नपाएकोमा स्थानीय आक्रोसित बनेका छन् ।
चमेलिया प्रभावित क्षेत्रमा विद्युत विस्तारका लागि आर्थिक वर्ष २०७४÷०७५ मै बोलपत्र आह्वान गरिए पनि अझै कार्य पूरा हुन सकेको छैन् । लामो समययता निर्माण व्यवसायी फिल्डमै नआएकोले स्थानीयवासी आन्दोलित भएको स्थानीय सुरेन्द्र बहादुर तितराले बताउनुभयो ।
स्थानीय पदम खडायतको नेतृत्वमा सात सदस्यिय संघर्ष समिति गठन गरेर १५ दिनभित्र निर्माणको काम शुरु नभए बलाँचस्थित विद्युत गृहमा तालाबन्दी गर्ने चेतावनी सहितको ज्ञापन पत्र शैल्यशिखर नगरपालिका, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाइएको छ ।
गाउँ वरिपरी विद्युतका पोल गाडिएका छन्, तार तानिएका छन्, तर स्थानीयवासीले विद्युत् बाल्न पाएका छैनन, स्थानीय खडायतले भन्नुभयो, यहाँबाट उत्पादन गरिएको विद्युतले सबै क्षेत्र झकमक उज्यालो बनाउँदा यहाँका सयौं घरधुरीले उज्यालो बाल्न पाएका छैनन् ।
निर्माण व्यवसायीले २०७५ असार १९ गते सम्झौता गरेको भएपनि प्रभावित क्षेत्रको आधाभन्दा बढी गाउँमा अहिलेसम्म विद्युत नबलेको स्थानीयको दुखेसो छ । दार्चुलाका झण्डै ६५ प्रतिषत घरधुरीमा हालसम्म विद्युत विस्तार भएको छैन् । गाउँघरमै स्थानीय सरकार पुगेपनि अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित रहेका छन् ।
धेरैले सोलारको सहायताले काम चलाए पनि केहि बिपन्न परिवारले सोलार समेत किन्न नसकेर अन्धकारमा बस्नुपरेको छ ।




