बैतडी । कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ । कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे बैतडीमा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेको थियो ।
पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार पनि खुलेका हुन् । बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ ।
“कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका यहाँका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आउँदैछ, सङ्घका अध्यक्ष चन्दले भने, “व्यापार व्यवसायले पनि गति लिँदै गएको छ हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।” सीमानाका सञ्चालनको बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न आवतजावत गर्ने गर्दर्थे ।
पहिले व्यापारिक प्रयोजनका लागि हार्डवेयरका सामग्री यो नाकाबाट आयात हुने गरेकामा केही वर्षदेखि भने यी सामग्रीको आयात घट्दै गएको छ ।
यो नाका हुँदै बैतडीलगायतका जिल्लामा उत्पादन हुने ठूलो परिमाणको घ्यू भारत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गाईभैँसी पाल्ने घट्दै जाँदा घ्यूको निर्यात पनि निकै कम परिमाणमा हुने गरेको जनाइएको छ ।
यस्तै नेपालमा उत्पादित तरकारीलगायतका कृषिउपज पनि यो नाका हुँदै भारत जाने गरेको छ । भारतीय ग्राहक भने चिनीयाँ र कोरियाका सामग्री किन्न यहाँ आउने गर्दथे ।
बैतडीमा सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।
झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उहाँको भनाई छ ।
झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् ।
गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउँछन् । नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो सुनाउनुभयो ।
सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । झुलाघाट नाकासहित देशका ३० नाका खुक्रबारदेखि खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले सहमति जनाएको छैन । नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न अहिलेसम्म सहमत भइनसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।





प्रतिक्रिया