दार्चुला । बुधबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको दार्चुलामा आज बेलुकीसम्म छ सय २७ जनालाई खोप लगाइएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियान अन्तरगत आइतबार (आज) ५९ जना महिला र ५१ पुरुष गरी एक सय १० जना स्वास्थ्य र सफाइकर्मीलाई खोप लगाइएको छ । हिजो शनिबार ८१ जना महिला र ५८ पुरुष गरी कुल एक सय ३९ जनाले खोप पाएका थिए ।

सबैभन्दा बढी शुक्रबार दार्चुलाका दुई सय आठ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो । जिल्ला अस्पताल दार्चुलामा स्थापना गरिएको खोप केन्द्रमा शुक्रबार एक सय ४३ महिला र ६५ जना पुरुष गरी दुई सय आठ जनाले खोप पाएका हुन् । विहिबार ६९ जना महिला र ५१ पुरुष गरी एक सय २० जनालाई खोप लगाइएको थियो ।

खोप अभियानको पहिलो दिन बुधबार ५० जनाले खोप पाएका थिए । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अहिलेसम्म खोप लगाइएकाहरुमा कुनै किसिमको समस्या नदेखिएको बताइएको छ । दार्चुला जिल्लाका लागि पहिलो चरणमा एक हजार तीन सय ९० डोज खोप उपलब्ध भएको छ ।

भारत सरकारले अनुदानमा उपहारस्वरुप उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई प्राथमिकतामा राखेर लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइदैछ ।

नेपालमा आइतबारसम्म ८८ हजारले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझ ४ बजे सम्म ८८ हजार ७ जनाले कोरोना विरूद्धको खोप लगाएका हुन्।

कोभिड-१९ खोप अभियान अन्तर्गत पाँचौ दिन सम्ममा १८५ खोप केन्द्रबाट सो संख्याले खोप लगाएका हुन्।

जसमध्ये प्रदेश १ का १२ हजार ७ सय ६३, प्रदेश २ का ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीका १० हजार ७ सय ६० कर्णालीका ५ हजार ५ सय ५६ र सुदूरपश्चिमका ६ हजार ८ सय ७७ जनाले खोप लिएका छन्।

त्यस्तै स्वास्थ्यकर्मीहरूले पाँच दिन भित्र खोप लिइसक्न मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?