दार्चुला । सडक निर्माण लगायत विकासे गतिविधि सञ्चालन गर्न करोडौं बजेटमा अधिकासं स्थानीय तहहरुले खरिद गरेका डोजर, एक्स्काभेटर र टिपरलगायत यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका छन्। बिग्रेका यन्त्र उपकरण मर्मत सम्भार गर्नुको साटो विकासे गतिविधि ठेक्कामार्फत गरिन थालेपछि ती यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका हुन्।
स्थानीय तह निर्वाचनपछि दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिकाको सबै वडाका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने भनेर आर्थिक वर्ष २०७४/०७५ को अन्त्यतिर एक करोड १६ लाखमा एक्स्काभेटर खरिद गरेको थियो। सो एक्स्काभेटरलाई सञ्चालन गर्न गाउँपालिकाले चालक र सहचालक गरि दुई जना कर्मचारीलाई नियुक्ति दियो। तर खरिद गरेको १५ महिनासम्म सो एक्स्काभेटर चले पनि दुई वर्षदेखि भने गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ पापनामा अलपत्र छोडिएको छ।
जसप्रति गाउँपालिकाकै जनप्रतिनिधिले समेत आक्रोश व्यक्त गरेका छन्। मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष प्रेम पन्तले सबै वडामा सडक बिस्तार गर्न एक्स्काभेटर खरिद गरिएपनि अहिले सो एक्स्काभेटर बिग्रिएर अलपत्र अवस्थामा रहेको बताउनुभयो । वडा अध्यक्ष पन्तले भन्नुभयो, ‘वडा नम्बर ५ जाने सडक बनाउँदा दुई वर्ष अगाडि एक्स्काभेटर खराब भयो। जसका कारण अहिले भएको ठाउँसम्म ल्याइ पुर्याउन पाँच लाख खर्च भएको थियो। अहिलेसम्म मर्मत नगरिदा अलपत्र अवस्थामा छ।’
गाउँपालिकाले विग्रेको एक्स्काभेटर मर्मत गर्न ४ पटक निर्णय गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी उपाध्यक्ष नेतृत्वको उपकारण मर्मत समितिलाई दिइएको जनाइएको छ। तर उपाध्यक्ष पुष्पा अवस्थीले भने गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मर्मतको लागि बजेट दिनुको सट्टा आफुलाई बदनाम गर्न खोजिरहेको आरोप लगाउनुभयो ।
‘निर्णय मात्रै गर्ने तर बजेट माग गर्दा मर्मत शिर्षकमा बजेट छैन भन्ने काम अध्यक्ष र प्रमुख प्रशासकीयले गर्ने गरेका छन। महिला भएकै आधारमा आफूलाई बदनाम गर्न उपाध्यक्षले काम गरेन भन्ने गरेका छन।’ उपाध्यक्ष पुष्पा अवस्थीले आक्रोश पोख्नुभयो ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले भने उपाध्यक्ष नेतृत्वको समितिले नै एक्स्काभेटर मर्मत गर्नु भनेर कार्यपालिकाबाट चार पटक निर्णय गरिएको बताउनुभएको छ ।
मालिकार्जुन गाउँपालिकामा मात्रै होइन, पछिल्लो समय विकासको लागि भन्दै स्थानीय तहहरुले यन्त्र उपकरण खरिद गर्दै आएका छन्। तर ती उपकरणको सदुपयोग भने गर्न नसकेका हुन्। दुई वर्ष पहिले लेकम गाउँपालिकाले पनि गोकुलेश्वर-लाली सडक निर्माणका लागि स्काभेटर मेसिन खरिद गरेर छोटो समयमै वडा नम्बर ६ गणेतदेखि सिरोडासम्म सडक निर्माण गरेको थियो ।
पहिलो वर्ष झण्डै २९ लाखमा १० किलोमिटर सडक निर्माण गरेर स्यावासी कमाएको लेकम गाउँपालिकाले गत वर्षदेखि मेसिनको सदुपयोग गर्न सकेको छैन् । पहिलो वर्ष द्रुत गतिमा काम भएको थियो, त्यसपछि कहिले मेसिनमा समस्या आएको भनेर काम रोक्ने गरिएको छ, कहिले सडकमा मेसिन रोकेर गाउँपालिकाले नियुक्त गरेका अपरेटर र सहयोगीहरु खालि बसेको पाइने गरेको लेकम गाउँपालिका वडा नम्बर ५ का भुवन जोशीले बताउनुभयो । पहिलो वर्षकै गतिमा काम गर्न सकेको भए अहिलेसम्म गोकुलेश्वरदेखि लाली जोड्ने सडक निर्माण सम्पन्न भइसक्ने अवस्थामा पछिल्लो पटकको ढिलासुस्ती र लापरवाहीले अपेक्षित प्रगति नभएको स्थानीयको गुनासो छ ।
सुरुमा निर्वाचित हुँदा निकै उत्साहित भएर विकासका लागि भन्दै स्थानीय तहमार्फत करोडौ मूल्यका उपकरण खरिद गराएका जनप्रतिनिधिहरु पछिल्लो समय आर्थिक लाभ र कमिसनको चक्करमा पालिकाको मेसिन थन्काएर ठेकेदार अर्थात निर्माण व्यवसायीका मेसिनहरुबाट काम गराइरहेका छन्। जुनकारण सरकारी उपकरणहरुको वेवास्ता हुँदै आएको छ। भने राज्यलाई आर्थिक भार समेत थपिएको छ । खरिद गरेपछि नियमित सञ्चालन नगरिएका कतिपय मेसिनहरु बिग्रिसकेको पाइएको छ ।




