दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडामा एक जना महिलाको भिरबाट खसालेर हत्या गरिएको छ ।
२५ वर्षीया अम्मरा खत्री जंगलमा घाँस काटीरहेको अवस्थामा सोहि ठाउँका अगबर सिह बोहराले मंगलबार साँझ पाँच बजेतिर पछाडीबाट लात्तिले हानी भिरबाट खसालेपछि खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
महिलालाई लात्तीले हानी भिरबाट खसालेको भन्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । पछाडीबाट लात्ती हान्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
घटनाको जानकारी पाउने बित्तिकै होपरीगाड प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । भिरबाट खसालेपछि अगबर सिह बोहरा फरार रहेको उहाँले बताउनुभयो । फरार अभियुक्तको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




