दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर चौपाताले ‘रिता बचाऔँ’ अभियानलाई २८ हजार ७६२ रुपैया आर्थिक सहयोग गरेको छ । विद्यार्थीहरुबाट संकलित १४ हजार रकममा १४ हजार थप गरेर विद्यालयको तर्फबाट रिता बचाऔँ अभियानमा २८ हजार रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाद्यापक केशबराज बिष्टले जानकारी दिनुभयो ।
यस्तै शैल्यशिखर नगरपालिकाको बस्कोट घर भइ कतारमा आर्थिक सहयोग संकलन गर्नुभएका प्रकाश सिंह साउदले २५ हजार ६२३ रुपैया सहयोग गरेको रिता बचाऔँ अभियानका अभियान्ता दिपक बिष्टले बताउनुभयो ।
त्यसैगरि लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ मावि कुणीले रिता बचाऔ अभियानलाई पाँच हजार ६ सय रुपैया सहयोग गरेको अभियान्ता विष्टले बताउनुभयो ।
देश, विदेशमा बस्ने सहयोगी नेपाली व्याक्ति र संघ, संस्थाहरुबाट हालसम्म १८ लाख बढी आर्थिक सहयोग संकलन भएको छ ।
दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएकाले उपचारको लागि रकम अभावको कारण अभियान्ताहरुले देश, विदेशमा रिता बचाऔँ अभियान सञ्चालन गरि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।
उपचारमा कम्तिमा ३० लाख खर्च लाग्ने चिकित्सकको सल्लाहपछि देश भित्र र बाहिर रिता बचाऔँ अभियान सञ्चालन गरिएको छ । हालसम्म देश, विदेशबाट झण्डै साढे अठार लाख राहत रकम संकलन भएको छ । अझै कम्तिमा १२ लाख आर्थिक अभाव रहेकोले बालिका रिता बोहराको प्राण रक्षाका लागि अभियानलाई जारी राखिएको छ ।
रिता बचाऔँ अभियान देशभित्र दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, झापा लगायत जिल्ला र विदेशमा भारत, मलेसिया, साउदी, दक्षिण कोरिया लगायत मुलुकमा सञ्चालन गरिएको अभियान्ता दिपक बिष्टले जानकारी दिनुभयो ।
मलेसियामा रोजगारी गरी फर्किनुभएका रिताका बुवाले कमाएको पैशा सकिएर उपचारका लागि समस्या परेपछि अभियन्ताहरुले रिता बोहराको जीवन रक्षाका लागि अभियान चलाउनु परेको अभियान्ताहरुले बताएका छन् ।
१३ वर्षकै कलिलो उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट पीडित रिता बोहराको अहिले काठमाण्डौँ स्थित बालकान्ति हस्पिटलमा उपचार भइरहेको छ ।
रिताको पहिलो चरणको उपचार सफल भएर दोस्रो चरणमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।





प्रतिक्रिया