वर्ष समिक्षा – जुर्मुराउँदै नेपाली क्रिकेट

दार्चुला । केही भ्रम थिए । जब क्रिकेट गतिहिन थियो, धेरैले क्यान निलम्बनको कारण दिन्थे । आईसीसीको प्रतिबन्धले क्रिकेटले गति नलिएको धेरैको दाबी थियो ।

प्रतिबन्ध आंशिक फुकुवा भयो । नयाँ क्यान आयो । तर के क्रिकेटले गति लियो ?

सुरुवाती एक वर्षको नतिजा सुखद रहेन । कोरोनाको प्रभाव त छँदै थियो, क्यानको कार्यशैली पनि मुख्य जिम्मेवार रह्यो ।
क्रिकेटले गतिनै लिएन ।

बल्ल क्याननै महत्वपूर्ण रहनेछ भन्ने धेरैले तत्वबोध गरे ।

क्रिकेट बन्न त सही नेतृत्व र सही सपना हुनुपर्ने रहेछ ।

सुरुवातको एक वर्ष नेपाली क्रिकेटमा नेतृत्वको स्खलन र विचार शुन्य कार्यशैली प्रस्ट देखियो ।

अन्तराष्ट्रिय रुपमा प्रचुर सम्भावना बोकेको क्रिकेटले आफ्नो वार्षिक क्यालेन्डरनै सार्वजनिक गर्न सकेन । जे आउँछ, मज्जाले पचाउँछ शैलीले नेतृत्वले काम गरेको देखियो ।

आईसीसीको क्यालेन्डर अनुसार नेपालले खेल्ने विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतका खेल पनि कोरोनाका कारण बारम्बार स्थगित बनेपछि नेपाली क्रिकेटर एक बर्षभन्दा बढी समय प्रतियोगिता विहिन रहे । तर वर्ष २०७७ को अन्तिम समय नेपाली क्रिकेटमा केही आशलाग्दो काम भएको छ । क्यानले आफुलाई सुधार गर्न चाहेको देखिन्छ ।

क्यानले यस वर्षको अन्तिम समयमा गरेका केही निर्णय तथा प्राप्त सफलताले भने क्रिकेटमा उत्साह थपिदिएको छ ।

लामो समयको निलम्बनपछि २०७६ साल कार्तिकमा आएको क्यानको नयाँ कार्यसमितिले सुरुवाती दिनमा खासै काम गर्न सकेन । निर्वाचनको करिब ६ महिनाको दौरान निलम्बन फुकुवाका लागि दौडिएको क्यान त्यसपछि कोरोना महामारीको चपेटामा पर्यो । कोरोनाकै बाहानामा यो वर्षको सुरुवातमा क्यानले भर्चुअल बैठक बस्नु बाहेक अन्य काम देखाउन सकेन ।

तर, २०७७ असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय महिला खेलाडीका लागि ऐतिहासिक निर्णय गर्यो । बैठकलले महिला खेलाडीलाई पहिलो पटक आफ्नो केन्द्रिय सम्झौतामा जोड्दै मासिक भत्ता दिने निर्णय गर्यो ।

पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गर्दै क्यानले ए, बी र सी गरी तीन श्रेणीमा भत्ताको व्यवस्था गर्यो । महिलातर्फ ए श्रेणीका खेलाडीले मासिक १५ हजार, बीले १२ र सी श्रेणीका खेलाडीले १० हजार रुपैयाँ पाउने निर्णय गर्यो । क्यानले गरेको यो निर्णयले पुरुष र महिला खेलाडीबीचको विभेद भने देखाएको भन्दै आलोचना भयो ।

महिला खेलाडीतर्फ ए श्रेणीले १५ हजार पाउदा पुरुषतर्फका खेलाडीले ५० हजार मासिक भत्ता पाउने क्यानको निर्णय थियो । जुन महिला खेलाडीको तलब भन्दा तीन गुणा बढी हो । तर, सम्झौतामानै नरहेका महिला खेलाडीलाई पहिलो पटक मासिक भत्ता दिने क्यानको निर्णय भने आफैमा प्रशंसनीय थियो ।

पुष २ गते क्यानले हाई प्रोफाईलका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरलाई जनवरी १ बाट लागु हुने गरि राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । श्रीलंकाली राष्ट्रिय टिमपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका वाटमोर राष्ट्रिय क्रिकेट टोलीले पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो नामका प्रशिक्षक हुन् । तर उनको प्रशिक्षणमा नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । उनले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन भने सुरु गरिसकेका छन् ।

श्रीलंकाको कोलम्बोमा जन्मिएका ६६ वर्षीय ह्वाटमोरले अस्ट्रेलियाको राष्ट्रिय टिमलगायत विभिन्न क्लबबाट खेलेका थिए । दायाँहाते ब्याट्सम्यान ह्वाटमोरले ७ टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

कोरोनाले पारो विस्तारै तल झर्न थालेपछि क्यानले घरेलु क्रिकेटलाई चलायमान बनाउन प्रधानमन्त्री कप क्रिकेटको तयारी थाल्यो । क्यानले सबै प्रदेशमा पीएम कपका लागि छनोट खेलको आयोजना गर्यो । क्यानले दाङको लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा पुस ११ देखि १९ गतेसम्म प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्यो । सो प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको थियो । फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि चुमेको थियो ।

लगत्तै, क्यानले माघ २ देखि १७ गतेसम्म प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीमा संचालन भएका थिए । प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो । अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको थियो ।

फागुनमा काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेटको आयोजना गर्यो । यस प्रतियोगितामा माघमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं मेयर–११ टिमसहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उपाधि नेपाल पुलिसले जित्यो ।

ललितपुर महानगरपालिकाको सहयोगमा क्यानले ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेटको आयोजना गर्यो । फागुन २२ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा संचालन भएको मेयर कपको उपाधि एपीएफले जितेको थियो । फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेट चलिरहदा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० बाट अवार्ड पायो । कोरोना भाईरसको महामारीको दौरान पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई उच्च मुल्यांकन गर्दै आईसीसीले अवार्ड प्रदान गरेको थियो । जुन अवार्ड प्राप्त गर्ने नेपाल विश्वका पाँच देशमध्ये एक हो ।

क्यानले बर्षको अन्तिममा अन्तर्राष्ट्रिय प्रतियोगिताको योजना बनाउन सफल भयो । महामारीका कारण राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाएको अवस्थामा क्यान आफैले घरेलु मैदानमा क्रिकोणात्मक टी–ट्वान्टी सिरिजको आयोजना गर्दैछ ।

नेपालले घरेलु मैदानमा बैशाख ४ गतेदेखि नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । त्यसपछि त्रिवि क्रिकेट मैदानमानै नामिबियासँग एकदिवसीय सिरिज खेल्ने क्यानले निर्णय गरिसकेको छ । क्यानका अनुसार नेपालले नामिबियासंग मे महिनाको तेस्रो साताबाट एकदिवसीय क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ ।

त्यस्तै, नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले पनि भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ । नेपालले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसंग सिरिज खेल्ने पक्का भएको हो । नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्नेछ ।

पछिल्लो पाँच महिनामा क्यानले सम्पन्न गरेका प्रतियोगिता र आयोजनाको तयारीमा रहेका प्रतियोगिताको क्यालेन्डर हेर्दा नेपाली क्रिकेट पुन जुर्मुराएको देखिन्छ । क्यानको कार्य समितिभित्र जस्तो सुकै कचिङ्गल देखिएपनि छोटो समयमा क्यानले गरेका निर्णय प्रशंसनीय छ । वर्षको अन्तिममा यू–१९ क्रिकेटलाई अघि बढाउन चौधरी ग्रुपको वाइवाइसँग क्यानले ५ वर्षको सम्झौता गरेको छ ।

यसले ग्रासरुट क्रिकेट र युवा क्रिकेट विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ । पछिल्लो सम्झौताले क्रिकेट संघले विस्तारै गति लिन थालेको देखिन्छ । तमाम कमजोरीका बीच पछिल्लो समय क्रिकेटको गतिविधि बढाउन र आर्थिक अभावका बीच राष्ट्रिय टिमलाई चलायमान बनाउन क्यानको देखाएको तदारुपता प्रशंसनीय छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?