दार्चुला । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपाल भारत सीमा नाकामा कडाइ गरिने भएको छ । भारतले धार्चुला प्रवेशमा तीन दिन भित्रको पीसीआर रिपोर्ट अनिवार्य गरेपछि कोभिड संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले समेत सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले भारतबाट नेपाल भित्रिनेहरुलाई कोरोना विरुद्धको दुई वटा खोप लगाएको हुनुपर्ने वा पीसीआर रिपोर्ट साथमा हुनुपर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । खोप लगाएको प्रमाण वा पीसीआर रिपोर्ट नभएका भारतीयलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
बैठकले भारत जाने नेपालीहरुको अत्यावश्यक काम परेमा स्थानीय तहको सिफारिस अथवा विरामीको हकमा जिल्ला अस्पतालको सिफारिस चाहिने निर्णय गरेको छ । विवाह वा मृत्यु भएको खण्डमा स्थानीय तहको सिफारिसको आधारमा एन्टिजेन परीक्षण गरेर भारत जान दिइने प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।
बैठकले कोभिड १९ संक्रमणको जोखिम यस जिल्लामा समेत रहेको हुँदा क्वारेन्टाइन तथा सव व्यवस्थापन कार्यमा नेपाली सेना खटिनुपर्ने अवस्था भएकाले दोस्रो चरणको कोभिड भ्याक्सिन दिनका लागि नेपाली सेना गुरुगोरख गुल्म खलंगा ब्यारेक दार्चुलामा कार्यरत सेनालाई भ्याक्सिन खोप प्राथमिकताका साथ दिनुपर्ने निर्णय गरेको छ ।
यसैबिच आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभरीका स्थानीय तहहरुलाई पुनः आइसोलेसन व्याड तयारी अवस्थामा राख्न आग्रह गरेको छ । गत वर्ष जिल्लास्थित स्थानीय तहले सञ्चालनमा ल्याएका आइसोलेसन पुनः सञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय भएको हो ।
नेपाल सरकार गृह मन्त्रालयको बैशाख ११ गतेको पत्रबाट आइसोलेसन केन्द्र सञ्चालनको व्यवस्था मिलाउन जिल्ला संकट व्यवस्थापन केन्द्रलाई पत्रचार भएको थियो । बैठकले गत वर्ष सञ्चालित आइसोलेसन पुनः व्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
गत वर्ष जिल्लाका सबै स्थानीय तहले विद्यालयहरुलाई आइसोलेसनको रुपमा प्रयोग गरेका थिए । अहिले विद्यालयहरु सञ्चालनमा रहेका छन् । विद्यालय बन्द नहुने अवस्थामा आइसोलेसनका लागि विकल्प खोज्नुपर्ने देखिएको छ ।
भारतको धारचुला तहशिलले समेत नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्याक्तिको तीन दिन भित्रको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको छ ।






प्रतिक्रिया