दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने भएको छ ।
बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी स्वास्थ्य बाहेक गाउँपालिका मातहतका कार्यालय बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म मात्रै खुला राख्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको महामारी फैलिँदै गएपछि यस्तो निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । वैशाख मसान्त सम्मका लागि बार अनुसार वडाका नागरिकलाई सेवा प्रवाह गरिने उनले बताइन् ।
आइतबार वडा नम्बर १ का नागरिकलाई सेवा दिइनेछ भने सोमबार वडा नम्बर २ र ८ का नागरिकलाई सेवा दिइनेछ ।
यस्तै मंगलबार वडा नम्बर ३ र ७ का नागरिकलाई सेवा दिइनेछ भने, बुधबार वडा नम्बर ४, बिहीबार वडा नम्बर ५ र शुक्रबार वडा नम्बर ६ का नागरिकलाई सेवा दिइने गाउँपालिकाले जनाएको छ ।
कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिरहेकाले यसको जोखिम कम गर्न बार अनुसार सेवा दिने निर्णय भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया