दार्चुला । कोरोना संक्रमणका कारण स्वास्थ्य समस्या देखिएर दार्चुलाबाट आइतबार काठमाण्डौं लगिएका नेपाली सेनाका नायकको उपचारको क्रममा काठमाण्डौंमा मृत्यु भएको छ । शरीरमा अक्सिजनको मात्रा कम भएपछि नायकलाई उपचारकोलागि दार्चुलाबाट काठमाण्डौँ लगिएको थियो ।
जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि सिमरिक हेलिकप्टरमार्फत काठमाण्डौ रिफर गरिएका नायकको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ति नायकको सोमबार मुत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले बताउनुभयो ।
यहि वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उहाँमा कोरोना पोजेटिभ आएको थियो । अस्पतालकै आइसोलेशनमा रहेका उहाँको स्वास्थ्य अवस्था दिनदिनै बिग्रीदै गएपछि आइतबार दिउँसो रेफर गरिएको थियो ।
केहि दिन पहिले दार्चुलाको मालिकार्जुन घर भइ डडेल्धुरामा कार्यरत एक जना शिक्षकको समेत उपचारको क्रममा धनगढीमा मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर फैलिएपछि दार्चुला घर भएका दुई जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाभरी हाल ७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना तिब्र रुपमा फैलिन थालेपछि सात स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।





प्रतिक्रिया