दार्चुलामा घरबाटै परीक्षा, संक्रमण कम भएपछि उत्तरपुस्तिका बुझाउने

दार्चुला । वार्षिक परीक्षा लिने समयमा कोरोनाको दोस्रो लहर सुरु भएपछि विद्यालयले घरबाटै परीक्षा दिन लगाएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहलाई तत्कालका लागि वैकल्पिक माध्यमबाट परीक्षा गर्न अनुरोध गरेको थियो ।

परीक्षा हुने सातादेखि नै लकडाउन सुरु भएको हुनाले घरबाटै परीक्षा दिन लगाएको महाकाली नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । महाकाली नगरका विद्यालय निरीक्षक मानसिंह धामीले ९ कक्षासम्मका विद्यार्थीले घरमै बसेर परीक्षा दिइरहेको बताउनुभयो ।

नगरपालिकाले विद्यालयमार्फत वैशाखको दोस्रो साता घरमै बसेर परीक्षा दिन प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीलाई दिन लगाएको छ । विद्यालय बन्द छन् ।

भीडभाड नगरी विद्यालयमा विद्यार्थीलाई कक्षागत रूपमा बोलाएर पेपर र उत्तरपुस्तिका उपलब्ध गराएर घरबाट परीक्षा दिन लगाइएको महेन्द्र नमुना माविका प्रधानाद्यापक रामदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार उतिबेला वैशाख २३ गतेसम्म विद्यार्थीलाई परीक्षाको उत्तरपुस्तिका विद्यालयमा बुझाउन भनिएको थियो । कोरोनाको संक्रमण तीव्र फैलिँदै गएपछि विद्यार्थीहरूले लेखेको उत्तरपुस्तिका बुझाउन सकेका छैनन् । उहाँले भन्नुभयो, ‘कोरोनाको संक्रमण कम भएपछि विद्यार्थीलाई उत्तरपस्तिका विद्यालयमा पुर्‍याउन अभिभावकहरूलाई सूचना गरिसकेका छौं ।’

विद्यार्थीहरूले अहिलेको परीक्षामा स्वतन्त्र हिसाबले लेख्न पाएका छन् । यसले विद्यार्थीको लेखाइको मापन हुने शिक्षक जोशीको बुझाइ छ । ‘विद्यार्थीहरूको शैक्षिकस्तर शिक्षकहरूलाई केही हदसम्म थाहा हुन्छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीले किताब र उत्तरपुस्तिका हेरेर लेखेको थाहा भइहाल्छ ।

घरबाटै भए पनि जुन विद्यार्थीले मौलिकता दिन्छ, त्यस विद्यार्थीको पढाइ र बुझाइको स्तर पनि मापन गर्न सहज हुन्छ ।’ यो परीक्षाको माध्यमबाट विद्यार्थीको लेखाइको स्तरसमेत बुझ्न सजिलो हुने उहाँले बताउनुभयो । त्यस्तै, शैल्यशिखर नगरपालिकामा वैशाख १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने विद्यालयको तयारी थियो । तर त्यसको अघिल्लो दिन जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएसँगै प्रश्नपत्र र उत्तरपुस्तिका दिएर परीक्षा घरबाटै लिन लागेको छ ।

जिल्लाका सबैजसो स्थानीय तहका विद्यालयले परियोजना कार्यविधिबाट परीक्षा लिन लागेका हुन् । कक्षा १ देखि ९ सम्मका सम्पूर्ण कक्षाका विद्यार्थीको परीक्षा अहिले परियोजना विधिबाट गर्न लागिएको हो ।

मालिकार्जुन गाउँपालिकाले सम्पूर्ण विद्यालयका विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने भएको छ । यसमा पूर्व परीक्षाफलका आधारमा ४० प्रतिशत, विषयगत परियोजना कार्यका आधारमा ४० प्रतिशत, विद्यार्थीको उपस्थितिका आधारमा १० प्रतिशत र अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा १० प्रतिशत गरी १ सय प्रतिशतको मूल्यांकन हुनेछ । विद्यालयले जेठ ७ गतेभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने मालिकार्जुन गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

यो समाचार कान्तिपुरमा पत्रकार मनोज बडूले लेख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?