दार्चुला । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले अस्पतालहरुमा तत्काल अक्सिजनको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
शुक्रबार बसेको लेखा समितिको भर्चुअल बैठकले प्रदेशमा कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजन अभावमा मृत्युदर समेत बढेको भन्दै सबै अस्पतालमा तत्काल अक्सिजन व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
लेखा समितिकी सभापति नन्दा बमले प्रदेश सरकारलाई विकास बजेट कटौती गरेर भएपनि जनताको जीउज्यानको सुरक्षामा खर्च गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।
अहिले अक्सिजन अभावमा संक्रमितको मृत्यु भइरहेका कारण प्रदेश सरकारलाई तत्काल सहज रुपमा व्यवस्थापन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
‘हालै सरकारले योजनाको मर्मत सम्भारका लागि २० करोड बजेट निकासा दिने निर्णय गरेको भन्ने कुरा सुनिन आएको छ,’ सभापति बमले भन्नुभयो, ‘त्यो के–कस्तो हो भनेर हामीले सरकारलाई सोध्ने निर्णय गरेका छौं ।
अहिले विकास निर्माण नभएर नागरिक बचाउने सरकारको प्रमुख दायित्व हो, उहाँले भन्नुभयो, त्यसैले सरकारको ध्यान त्यसतर्फ जानुपर्छ ।’
सार्वजनिक लेखा समितिका ११ सदस्यमध्ये भर्चुअल बैठकमा ६ जना सहभागी थिए ।





प्रतिक्रिया