दार्चुला । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १०५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा प्रदेशभर झण्डै आधामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो
सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ ।
सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको छ ।
यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।
यसैबिच नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।
वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।





प्रतिक्रिया