दार्चुला । सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३ हजार ५३८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर विधिबाट २० हजार ६९१ जनाको परीक्षण गरिएकोमा नौ हजार ५५६ (४६.१८ प्रतिशत) मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट परीक्षण गरिएका २० हजार ४५६ मध्ये तीन हजार ९८२ (१९.४६ प्रतिशत) मा संक्रमण देखिएको छ ।
चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार ८९५ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या परीक्षण गरिएको कुल संख्याको ८.७९ प्रतिशत मात्रै हो ।
चैतसम्म पीसीआर विधिबाट एक लाख ३८ हजार ५७५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २३७ जना (१०.२७ प्रतिशत) संक्रमित भएको पुष्टि भएको थियो । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका १३ हजार ५९२ मध्ये ६५८ (४.८४ प्रतिशत) मा संक्रमण देखिएको थियो ।
चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनाभरि ४१ हजार एक १४७ जना व्यक्तिको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १३ हजार ५३८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयको तथ्यांकअनुसार वैशाखसम्म कुल एक लाख ९३ हजार ३१४ जनाको परीक्षण गर्दा २८ हजार ४३३ जनामा संक्रमण देखिएको छ । जसमा वैशाख महिनामा मात्रै संक्रमित हुनेको संख्या १३ हजार ५३८ छ । वैशाखमा मात्रै देखिएको संक्रमितको संख्या हालसम्म सुदूरपश्चिममा देखिएका कुल संक्रमितको झण्डै ४८ प्रतिशत हुन आउँछ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थी भन्नुहुन्छ, ‘भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिंदा स्वदेश फर्केकाहरूको हामीले सुरुदेखि नै परीक्षण गर्न सकेनौं, त्यसैले यो अवस्था आयो ।’
अहिले पनि भारतसँग सीमा जोडिएका चार मुख्य नाकाहरू गड्डाचौकी, गौरीफण्टा, दार्चुला र झुलाघाटबाट आउनेहरूको मात्रै चेकजाँच भइरहेको र अन्य नाकाबाट लुकिछिपी आउनेहरूलाई परीक्षणको दायरामा ल्याउन नसकिएको डा. अवस्थी बताउँछन् ।
‘हामी अहिले पनि बढी संक्रमण फैलिएका भारतका शहरहरूबाट आएका र शंका लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गरिरहेका छौं, सबैलाई परीक्षण गर्न सकेका छैनौं,’ डा अवस्थीले भन्नुभयो, ‘यदि परीक्षणलाई व्यापक बनाउने हो भने संक्रमितको संख्या अत्याधिक हुने देखिन्छ ।’
उहाँले यो अवस्था कहिलेसम्म रहने हो भन्ने अनुमान गर्न गाह्रो रहेको बताउनुभयो। ‘अहिले तेस्रो लहरको संक्रमण देखिएको पुष्टि भइसकेको छ,’ डा. अवस्थीले भने, ‘त्यसैले कोभिड–१९ को संंक्रमण कहिलेसम्म रहन्छ, कति चरणसम्म जान्छ भन्ने कुराको अनुमान गर्न सकिन्न ।’ उहाँले विगतमा फैलिएका महामारीहरू लामो समयसम्म रहेको बताउनुभयो ।
कोरोनाबाट बच्नका लागि मुख्यतया तीन सावधानी अपनाउन उनले आग्रह गर्नुभयो । ‘भौतिक दूरी कायम गर्नुहोस्, घरबाहिर निस्कनै पर्ने अवस्था आएमा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् र सरसफाइमा ध्यान दिनुहोस,’ डा. अवस्थीको आग्रह छ ।
उहाँले जुन ठाउँमा मापदण्डको सही पालना भएको छ, त्यो ठाउँमा संक्रमण दर कम भएको बताउनुभयो।
निर्देशनालयको तथ्यांकअनुसार चैतसम्म सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५८ थियो । वैशाख महिनासम्ममा यो संख्या ३१७ पुग्यो । यस तथ्यांकले वैशाखमा मात्रै सुदूरपश्चिम प्रदेशमा २५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तथ्यांकमा नआएकाहरु पनि हुनसक्ने अनुमान छ ।
यस आधारमा वैशाखमा मृतकको संख्या पाँच गुणाभन्दा बढी देखिन्छ । प्रदेशमा हालसम्म कुल संक्रमित संख्याको १.११ प्रतिशतले कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाएका छन् ।
वैशाखको अन्तिम सात दिनमा मात्रै १४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
वैशाख महिनामा चार हजार २१६ जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् । चैत महिनासम्म कोभिड–१९ को संक्रमणबाट मुक्त हुनेको संख्या १४ हजार ५५ थियो ।





प्रतिक्रिया