दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार वैशाखको तुलनामा प्रदेशमा जेठको पहिलो सातामा संक्रमण दर झनै उच्च देखिएको हो ।
जेठको ८ दिनमा पीसीआर र एन्टिजेन विधिमार्फत प्रदेशका १५ हजार ९१४ को कोभिड–१९ परीक्षण भएको छ । उनीहरुमध्ये छ हजार ६८६ मा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संख्या परीक्षण गरिएको कुल संख्याको ४२ प्रतिशतभन्दा बढि हो । चैत महिनासम्म भने सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये साढे ८ प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको थियो । चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनामा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या बढेर २८ हजार ४३३ पुगेको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार जेठको ८ दिनमा छ हजार ६८६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३५ हजार नाघेको छ ।
जेठको ८ दिनमा सुदूरपश्चिम प्रदेशमा एक सय ११ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ १ गतेदेखि ८ गतेसम्म एक सय ११ जनाको संक्रमितले ज्यान गुमाएका हुन् । जेठ १ गते १६ जना, २ गते २१ जना, ३ गते १४ जना, ४ गते १४ जना र ५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
जेठ ६ गते १० जना, जेठ ७ गते ११ जना र जेठ ८ गते १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा दुई हजार दुई सय ५८ जनाले कोभिड जितेका छन् ।





प्रतिक्रिया