मन्त्री बन्ने सूचिमा सुदूरपश्चिमका चार नेताको चर्चा, रानाको सम्भावना बलियो

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ । उहाँले आफूसँग रहेका मौज्दात सात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेको स्रोतले जनाएको छ ।

जसअन्तरगत सुदूरपश्चिमबाट कम्तिमा एक देखि ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना रहेको राजनीतिक बृत्तमा चर्चा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, कैलालीका नारदमुनी राना, कञ्चनपुरकी निरु पाल र बाजुराका लालबहादुर थापालाई मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको बताइएको छ ।

सुदूरपश्चिमबाट मन्त्री बन्ने सूचिमा अरुभन्दा कैलालीका रानाको सम्भावना बढी रहेको एमालेका एक जना केन्द्रिय नेताले बताउनुभएको छ ।

नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भन्नुभयो, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि रानाको नाम अग्रपङ्क्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिनुभयो ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनुभएमा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको बुझिएको छ ।

यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारीले पनि गृह मन्त्रालयको इच्छा व्यक्त गर्नुभएको एमाले स्रोतले बताएको छ । नारदमुनि राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमालेभित्र शुरुदेखि नै छ । तर उहाँले अहिलेसम्म अवसर प्राप्त गर्नुभएको छैन ।

सम्भवतः भोलि शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाइ एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाइ छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।

त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको सङ्ख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थाल्नुभएको बुझिएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजदा रहेको मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?