दार्चुला । कञ्चनपुर जिल्लामा निःशुल्क बिरुवा वितरण सुरु गरिएको छ । सब डिभिजन बन कार्यालयबाट निःशुल्क बिरुवा वितरण कार्य बुधबारबाट सुरु गरिएको हो ।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाले मात्रै पनि यस वर्ष १ लाख ५० हजार र पुनर्वास नगरपालिकासँगको सहकार्यमा थप १ लाख गरी जम्मा २ लाख पचास हजार बन प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेको कार्यालयले जनाएको छ ।
गत विगतका वर्षहरूमा असार २० गतेबाट बिरुवा वितरण गर्ने गरिएको भए पनि यस वर्ष छिट्टै वर्षात भएकोले केही दिन पहिले नै बिरुवा वितरण गर्न सुरु गरिएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताउनुभयो ।
कुण्डा सब डिभिजन बन कार्यालय पचकडिया र पुनर्वास नगरपालिकाको समन्वय र सहकार्यमा विगतका वर्षहरूमा करिब ६ लाख जति बिरुवा वितरण गरिएको थियो । यस वर्ष पनि अढाई लाख बिरुवा वितरण गरिरहँदा त्यसको निरीक्षणमा समेत जोड दिइएको छ ।
बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्ने र निजी बन बनाउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कार्य योजना पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेटिएको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो ।
कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाले मसला, टिक, बकाइनो, बडहर, अमला, निम, बाँस, सिरिस, सिसौ, पपुलर, गोल्ड मोहर आदि प्रजातिका बिरुवा निःशुल्क वितरण गरिरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया