दार्चुला । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।
हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताउनुभयो ।
अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले बताउनुभयो । हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकाया तीन दिन हिँडेर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे । ‘तर, डिपोमा एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्कें, चामल नपाएपछि सिस्नो कन्दमूल गिठ्ठा भ्याकुरले छाक टार्नुपर्ने भएको छ’, रोकायाले भन्नुभयो ।
हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्किन लागेको उहाँले बताउनुभयो । ‘हामी चामल पाइन्छ भनेर आएका हौं, तर नपाए पछि घर फर्किंदै छौं ।
त्यहाँबाट आउने सर्वसाधारणले वर्षाका बेला खाद्यान्न अभाव भएको भन्दै गुनासो गरेका छन् । ‘तीन दिन लगाएर कवाडी डिपो पुग्यौं, चामल पाएनौं । अबको विकल्प कोल्टीको खाद्यमा हो, कोल्टी पुुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्ने हुन्छ’, घरबाट साहूसँग चार हजार सापटी ऋण निकालेर चामल किन्न आएका चन्द्रबहादुर बुढ्थापाले बताउनुभयो ।
‘कोल्टी जाऔं भनेपछि ऋण निकालेर ल्याएको पैसा सबै बाटोमा खान मात्र पुग्छ, अनि चामल के ले किन्ने?’, बुढ्थापाले भन्नुभयो, साविकको बिच्छँया गाविसमा मात्र चार हजार जनसंख्या छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान पुग्दैन ।
हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया