दार्चुला । बैतडीमा पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि समिति गठन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा समिति गठन गरिएको हो।
बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरूका समस्या समाधानमा सहयोग पु¥याउन उक्त समिति गठन गरिएको बताईएको छ। प्रमुख भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक सदस्य रहेका छन्।
२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरू अनशनमा बसेपछि समस्या समाधान सहयोग समिति गठन गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताउनुभयो। गत शुक्रबारदेखि रिले अनशनमा बसिरहेका लेन्थवर्करले पारिश्रमिक नपाउँदासम्म अनशन नछाड्ने बताउँदै आएका छन्। तलब माग गर्दा दिन्छौ भन्ने तर आश्वासनमात्रै मिल्ने गरेको उनीहरुको दुखेसो छ।
आफूहरूले तलब नपाउने गरेकाले सरकारलाई दबाव दिन अनशन शुरू गरेको तथा तलब नपाउँदासम्म अनशन जारी रहने उनीहरको भनाई छ। पाटन–पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्करहरू काम गर्दै आइरहेका छन्। उनीहरूले २०७६ असोजदेखिको पारिश्रमिक नपाएको बताएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया