सुदूरपश्चिममा ५ वर्षमा २,६४५ जनाले गरे आत्महत्या

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ। प्रहरीसंग बालबालिकादेखि बृद्धसम्मले आत्महत्या गरेको डरलाग्दो तथ्याङक छ।

पछिल्लो पाँच वर्षमा सुदूरपश्चिम प्रदेशका नौँ जिल्लामा २,६४५ जनाले आत्महत्या गरेका छन्। गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ६८० जनाले आत्महत्या गरेको तथ्याङक छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनाले झुन्डिएर, १७१ जनाले विष सेवन गरेर, ६ जनाले पानीमा हामफालेर, तीन जनाले आगो लगाएर, दुई जनाले हामफालेर, करेन्ट लगाएर तथा हातहतियारबाट एक/एक जनाले आत्महत्या गरेका छन्।

कैलालीमा सबैभन्दा बढी दुई सय ६१ जनाले एक वर्षमै देह त्यागेका छन्। यस्तै कञ्चनपुरमा १९५, अछाममा ४४, बैतडी र डडेल्धुरामा ४३/४३ जनाले आत्महत्या गरेका छन्। बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २० र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेका छन्।

प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष ४१ वटा आत्महत्या दुरुत्साहनका मुद्धा दर्ता भएका छन्। दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ।

सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ। त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ। परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ। यस्तो लक्षण देखाउने व्यक्तिसम्म लामो समय रहन पनि आवश्यक हुन्छ। लागुपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्ने मनोचिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?