पुर्चौंडी नगरपालिका र १० वटै वडामा तालाबन्दी

दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिका र नगरपालिका अन्तरगतका सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । नगरपालिकाभित्रका विद्यालयहरुमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेको पुर्चौडीबाट रेडियो लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

नेपाल सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरिएको उहाँले बताउनुभयो । आफ्ना माग पूरा नहुँदा सम्म तालाबन्दी नखोल्ने बिजयपुरका बालबिकास सहजकर्ता द्रोपती जोशीले बताउनुभयो ।

रेडियो लोकदर्पणसंग कुरा गर्दै पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपुरका बालबिकास सहजकर्ता द्रोपती जोशीले भन्नुभयो, म २०५८ सालदेखि बालबिकास सहजकर्ता पदमा कार्यरत छु, विगतमा न्यूनतम पारिश्रमिक नपाएरै पनि काम गर्यौँ, अहिले सरकारले नै न्यूनतम पारिश्रमिक दिने घोषणा गरेकोले घोषणा अनुसारको पारिश्रमिक माग गरिरहेका हौँ ।

यसअघि असार महिनामा पनि बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिका र शिक्षा शाखामा ताला लगाएपनि कार्यपालिका बैठक राखेर छलफल गर्ने आश्वासन पाएपछि ताला खोल्न सहमत भएका थिए । हालसम्म सुनुवाइ नभएपछि दोस्रो पटक नगरपालिकामा र सबै वडा कार्यालयमा समेत तालाबन्दी गर्नुपरेको जोशीले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक बर्षमा २ हजारका दरले बालविकास सहजकर्ताको तलब बढाउने निर्णय गरेको छ । तर उनिहरुले सरकारले घोषणा गरे अनुसार १५ हजार नै तलब पाउनुपर्ने माग गरेका छन् । यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिका ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको उहाँहरुको भनाई छ ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको भएपनि जिम्मेवार प्रतिनिधिहरु नगरपालिका बाहिर रहेकोले छलफल हुन सकेको छैन् । नगर प्रमुख र उपप्रमुख काठमाण्डौंमा रहेको बताइएको छ, भने कार्यालय प्रमुख समेत कार्यालय बाहिर रहेको नगरपालिकाले जनाएको छ ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकाले माग पूरा नगर्दा सम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी १५१ जना रहेका छन् ।

नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको नगर उपप्रमुख जानकी ऐर बमले बताउनुभयो । विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको मागका बिषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?