दार्चुला । दार्चुला स्थित नेपाल भारत सीमा भएर बग्ने महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन फुकालिदिएपछि नदीमा बेपत्ता भएका व्यास गाउँपालिका वडा नम्बर २ मालका जयसिंह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमले शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा तुईन प्रकरणमा महाकाली नदीमा बेपत्ता भएका धामीको न्यायका लागि हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको हो ।
अखिल नेपाली युवा सङ्घ बैतडीका जिल्ला संयोजक राजेश चन्दले भारतीय एसएसबीले सङ्कटमा परेका सीमावर्ती नागरिकको उद्धारको साटो निर्दोष नेपाली नागरिकमाथि दुस्मनको जस्तो व्यवहार गरेर तुईन तरिरहेकै अवस्थामा तुईन काटेर गरेको अमानवीय कार्यको भर्त्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर संलकन अभियान शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार हस्ताक्षर सङ्कलन गरेर बेपत्ता धामीको परिवारलाई न्याय र दोषिलाई कारवाहीका लागि सरकारलाई बुझाइने छ ।
घटनापछि बेपत्ता जयसिंह धामीको खोजी गरिनुपर्ने, सरकारद्वारा गठित छानबिन समितिले सत्य तथ्य छानबिन गर्नुपर्ने, दोषी एसएसबीमाथि कारबाही गर्नुपर्ने, पीडित परिवारलाई राहत क्षतिपूर्ति र धामीको सन्तानको शिक्षादीक्षा सरकारले जिम्मा लिनुपर्ने, उक्त समस्या सदाका लागि हटाउन नेपाली भूमि भएरै सडक विस्तार गर्नुपर्ने जस्ता माग अघि सारिएका छन् ।
साउन १५ गते दार्चुला सदरमुकाम खलंगा आउनेक्रममा तुईन तर्ने बेला एसएसबीले तुईन फुकालेपछि बेपत्ता भएका धामीको नौँ दिनदेखि खोजि भइरहेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले घटनास्थलको अवलोकन, प्रदक्षदर्शीका बयान, पिडित परिवारका कुराहरु सुन्ने र सरोकारवालाहरुबाट सुझाब संकलन गर्ने काम गरिरहेको छ ।
छानविन टोलीले शुक्रबार तुइन राखिएको नेपालपट्टिको भाग अवलोकन गर्नुका साथै पीडित परिवारसँग भेट गरेको छ । टोलीले घरमै आएर पारिवारिक अवस्थादेखि वारिपारि (नेपाल–भारत) को सम्बन्धलगायत विषयमा जिज्ञासा राखेको बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताउनुभयो ।
सरकारी टोली घरमा पुग्दा पीडित परिवारमा रुवाबासी चलेको थियो । बेपत्ता जयसिंहकी पत्नी राजन्ती भक्कानिनुभएको थियो । उनीहरूले दोषीमाथि कडा कारबाही हुनुपर्ने र आफूहरूले न्याय पाउने माग राखेका छन् । ‘भाउजूले श्रीमान्लाई महाकालीमा बेपत्ता बनाउने एसएसबीमाथि कडा कारबाही हुनुपर्छ भनेर भन्नुभयो । नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाबारे पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो,’ नरेन्द्रले भन्नुभयो । जयसिंह बेपत्ता भएको चार–पाँच दिनसम्म केही नखाएकी राजन्ती अहिले थोरै खान थाल्नुभएको छ । घरमा सान्त्वना दिन छिमेकी र इष्टमित्र आउने क्रम जारी छ ।
मालगाउँ पुगेको सरकारी टोली दुई समूहमा बाँडिएको थियो । समितिका संयोजक सहसचिव जनार्दन गौतम र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका एआइजी पुरुषोत्तम कँडेलले जयसिंहको घर पुगेर परिवारसँग भेटघाट गरेका थिए । त्यस्तै, समितिका सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । समिति सदस्य एवं दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशी भने हेलिकोप्टरमा ठाउँ नभएपछि मालगाउँ जान पाउनुभएको थिएन ।
टोलीले बिहीबार एसएसबीको सुरक्षामा भारतपट्टि तुइन लगाएको ठाउँको निरीक्षण गरेको थियो । सरकारी टोली भारतपट्टि निरीक्षण गरिरहँदा नेपालपट्टि पीडितको कुरा सुन्न गाउँमै आउन माग गर्दै स्थानीयले नाराबाजी गरेका थिए । त्यसअघि छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सदरमुकाम खलंगामै बयान लिएको थियो । गत १५ साउनमा खलंगा आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकाइदिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए ।
यसैबिच बेपत्ता जयसिंह धामीको परिवारलाई शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग भएको छ । शुक्रबार सरकारी छानबिन टोलीका संयोजक सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई १० हजार सहयोग गरेका छन् । त्यस्तै, व्याँस गाउँपालिकाले २५ हजार, विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव भरत मल्लले पाँच हजार र सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार सहयोग गरेका छन् । बेपत्ता धामीका एक छोरा, एक छोरी र श्रीमती छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया