दार्चुला । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नम्बर १० मा खानेपानी योजनामा काम गरेका मजदुरहरुले पैसा नपाएको गुनासो गरेका छन् । खानेपानी योजनाको काम सम्पन्न भएर भुक्तानी भईसक्दा समेत आफूहरुले खानेपानी योजनामा काम गरेको मजदुरी नपाएको स्थानीय सुरेन्द्र महराले जानकारी दिनुभयो ।
‘नगरपालिकाबाट रकम भुक्तानी भईसक्दा समेत हामीलाई काम गरेको पैसा नदिइएको कामदारहरुको गुनासो छ । मजदुरहरुको करीब १२ सय हाजिर बराबरको रकम भुक्तानी नभएको महराले बताउनुभयो । कसाड खानेपानी योजनामा काम गरेको पैसा नदिएर उपभोक्ता समितिले ठग्न खोजेको स्थानीयको आरोप छ ।
खानेपानी योजना सम्पन्न गर्नका लागि पुर्चौंडी नगरपालिकासंग १५ लाखको सम्झौता भएको भएपनि ९ लाख ३२ हजार ५४५ मात्रै निकासा भएपछि रकम वितरणमा समस्या भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
जनश्रमदान सहित १५ लाखको सम्झौता भएको र १३ लाख रुपैया खानेपानी योजना लागत लागेकाले लागतभन्दा कम पैसा निकासा भएपछि समस्या भएको बताइएको छ । नगरपालिकाका प्राविधिकले कामको कम मूल्यांकन गरेर थोरै पैसा निकासा गर्दा मजदुरलाई पारिश्रमिक वितरणमा समस्या भएको उपभोक्ता समितिको दाबी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया