दार्चुला । महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानबिन समिति दार्चुलाबाट बैतडी हुँदै धनगढी पुगेको छ। भारतीय एसएसबीले तुइनको डोरी फुकालिदिएपछि जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको हो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेश राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसँग भेटघाट गरेको छ । सो क्रममा छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा समेत मुख्यमन्त्री भट्ट र कानूनमन्त्री जोशीलाई जानकारी गराएको छ ।
मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताउँदै प्रतिवेदन भने काठमाडौं पुगेर बुझाउने बताउनुभयो । मन्त्री जोशीले टोलीलाई यहाँको सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाका दिने सास्ती लगायतका विषयमा जानकारी गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव समेत दिनुभएको छ ।
‘सिंहदरबारको आँखाबाट सीमा सुरक्षा र शान्ति सुरक्षाका हकमा सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण कमजोर छ भन्ने कुरा मैले पनि राखेकी छु,’ मन्त्री जोशीले भन्नुभयो, ‘सशस्त्र प्रहरीका बीओपीहरु व्यवस्थित गर्नुपर्ने, दार्चुला तिङ्कर सडक, महाकाली करिडोर र महाकाली नदीमा निर्माणाधीन झोलुङ्गे पुल शीघ्र निर्माण गरेर आवतजावतका लागि दार्चुलाबासीले भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने सुझाव दिएँ ।’
मंगलबार दार्चुलाबाट फर्किएको टोलीले मुख्यमन्त्री र कानूनमन्त्रीलाई छुट्टाछुट्टै रुपमा भेटेको हो । बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली बुधबारै कञ्चनपुर जाँदैछ । छानबिन टोलीका सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेलले कञ्चनपुरमा पनि महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
गत साउन १५ गते भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर व्याँस गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी बेपत्ता हुनुभएको छ । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिव गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । करीब ८ दिनसम्म दार्चुलामा बसेर काम गरेको टोलीले अहिले प्रदेश राजधानी र महाकाली नदीसँग जोडिएका जिल्लामा सरोकारवालासँग भेटघाट र छलफल गरिरहेको हो ।
दार्चुलाबाट सोमबार बेलुकी फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो। सरकारले छानबिन समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा सात दिन म्याद थप गरेको छ। सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् ।
छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, पीडित परिवार, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो।
यो पनि पढ्नुहोस : मालघाट घटनामा भारतको दादागिरी, जयसिहको खोजि गर्न ड्रोन प्रयोगको अनुमति दिएन
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया