दार्चुला । तलब वृद्धिको माग गर्दै आएका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले पाटन नगरपालिकाका १० ओटै वडामा तालाबन्दी गरेका छन् । बजेट भाषणका लागि संघीय सरकारले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्याउने पर्ने घोषणा गरेको भएपनि नगरपालिकाले कार्यान्न्वयन नगरेको भन्दै उनीहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।
आइतबारदेखि आन्दोलनमा उत्रेका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिकामा गरेको तालाबन्दी पनि जारी रहेको छ । संघर्ष समिति बनाएर आफूहरु आन्दोलनमा उत्रेको लेखापाल वसन्त पन्तले बताउनुभयो । माग पूरा नहुँदा सम्म तालाबन्दी जारी रहने उनिहरुको अडान छ ।
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका लागि संघीय सरकारले २ हजार थप गरेको र बाँकी रकम स्थानीय तहले व्यहोर्नुपर्ने भएकाले नगरपालिकाले तलब नथपेको उनीहरुको गुनासो छ । नगरपालिकाका १० ओटै वडामा तालाबन्दी गरेर संघर्षका कार्यक्रमलाई अघि बढाएको बालविकास सहजकर्ता संघर्ष समितिकी संयोजक मञ्जु भण्डारीले बताउनुभयो ।
यता पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका मागप्रति आफूहरु सकारात्मक रहेको भएपनि बजेट अभावका कारण समस्या भएको बताउनुभयो । संघीय सरकारले स्थानीय श्रोतबाट थप तलब दिनुपर्ने भनेकाले सो निर्णय कार्यान्वयनमा समस्या भएको उहाँको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया