दार्चुला । कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएपछि विद्यालय गएर शिक्षा आर्जन गर्नुपर्ने समयमा साथीभाइसँगै गोरु, बाख्रा चराउनु विद्यार्थीहरुको दिनचर्या बनेको छ । यसो फुर्सद मिले साथीहरू मिलेर खेल्छन्। विद्यालयको ड्रेस घरबस्दा नै लगाएर च्यातिइसक्यो। झोला घरको कुनामा फालिएको छ। किताब कापीसँग नाता टुटिसक्यो। झोलासंग विद्यार्थीको भेट हुनै छोडेपनि अभिभावकहरु पनि चिन्तित बनेका छन् । विद्यालय लामो समयसम्म बन्द हुदा विद्यार्थीहरु पढाइ, लेखाइ बिर्सिंदै गएका छन्।
ऐडिबाग माबि मैखोलीमा कक्षा ५ मा पढ्ने प्रकाश जोशी स्कुल जाँदासम्म किताब राम्ररी पढ्न, जोड घटाउ र गुणन भाग गर्न सिकिसकेका थिए। केही अंग्रेजी किताबहरू पनि पढ्न थालेका थिए। तर, वर्ष दिनयता प्रकाशले सिकेका जोडघटाउ पनि बिर्सिंदै गएका छन्। विद्यालय बन्द हुदा विद्यार्थीहरुले पढन छोडेका छन् । उनीहरूको न प्राविधिक पहुँच छ न अनलाइन कक्षाको व्यवस्था नै छ । गाउँमै भएका विद्यालयमा विद्यार्थीका पाइला १६ महिनादेखि परेका छैनन्। घरमा बस्दा बस्दै दिक्क भैसकेका विद्यार्थीहरुलाई पनि विद्यालय चाँडै खुलोस् भन्ने लागेको छ। विद्यालय कहिले खुल्छ भन्ने धेरै बालबालिकाको जिज्ञासा अभिभावकले मेटाउन सकेका छैनन्। नत उनीहरूलाई पढाउने शिक्षक–शिक्षिकाले नै। खेल्ने, पढ्ने र रमाउने बाल चाहना चौघेराभित्र सीमित हुँदा बालबालिकाको मानसिक अवस्था कमजोर बन्दै गएको ऐडिबाग माध्यमिक विद्यालयका शिक्षक सम्भुराज जोशीले बताउनुभयो ।
विद्यार्थीहरु कहिले स्कुल खुल्ला र जाउँला भन्ने प्रतीक्षामा छन । अधिकासंको घरमा पढ्ने वातावरण छैन्, स्कुल खुल्ने छाँटकाँट छैन्, पढाइ बिग्रिसक्यो । दार्चुलासहित दुर्गम जिल्लाहरुमा गतिलो इन्टरनेट र टेलिफोन सुविधा नहुँदा वैकल्पिक माध्ययमबाट समेत पठन–पाठन हुन सकेको छैन। त्यसको प्रत्यक्ष मारमा दुर्गमका बालबालिका परेका छन्। अधिकासं विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नरहेको शिक्षक जोशीले बताउनुभयो ।
पहाडी भेगका विद्यालय उमेर समूहका बालबालिका आजभोलि डाँडा कन्दरामा भेटिन्छन्। घरको काममा उनीहरूको व्यस्तता बढेको छ। विद्यालय जान नपाएपछि उनीहरूलाई गोठालो बन्न र घाँस दाउरा गर्न भ्याइनभ्याइ छ।
बिहान सबेरैदेखि साँझ अबेरसम्म विद्यालय परिसरमा बिताउने विद्यार्थी अहिले अक्सर जंगल, पसल वा खेतबारीमा भेटिन्छिन्। विगतमा कोचिङ, घर, स्कुल, ट्युसन गरेर पूरा समय पढाइमा लगाउने विद्यार्थी समेत अहिले कहिलेकाहीँ मन लागेको बेला मात्र पढ्ने गरेको बताउछन् । अहिले विद्यार्थीहरु पढाइभन्दा मोबाइलमा व्यस्त हुन थालेका छन् । भोलि स्कुल जानुपर्छ भनेपछि नानी बेलैमा सुत्थिन्, बिहान छिट्टै उठ्ने, सिक्ने, खाने, खेल्ने सबै समयतालिका ठीकठाक थियो’, लेकमका द्रोपती जोशीले भन्नुभयो, घरमै बसेपछि जतिबेला सुते–उठे मतलब नहुने, त्यसले उनीहरूको जीवनशैली नै परिवर्तन भएको छ।’ छोरीले जानेका कुराहरू पनि भुल्न थालेको उहाँको गुनासो छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया