दार्चुला । नेकपा एमाले विभाजनको असर दार्चुलामा नपर्ने नेताहरुले दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजनको असर विभिन्न जिल्लाहरुमा पनि देखा परेको आकलन भइरहेको बेला एमाले दार्चुलाले पार्टी विभाजनको असर नपर्ने जनाएको हो । एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जनप्रतिनिधि, पार्टीका जिल्ला नेतादेखि सबै कार्यकर्ता एकताबद्ध भएर एमालेमै रहने दाबी गर्नुभयो । २१ दिनभित्र दल रोज्नुपर्ने अध्यादेशको व्यवस्थालाई लक्षित गर्दै उहाँले एमालेबाट निर्वाचित कुनैपनि जनप्रतिनिधि फरक पार्टीमा जाने कुनै सम्भावना नरहेको बताउनुभयो । अन्य पार्टी कमिटीहरु आवद्ध नेता, कार्यकर्ता समेत एमालेमै कटिबद्ध भएर लाग्ने जोशीको भनाई छ ।
माधव कुमार नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेपछि जिल्ला स्तरका नेता, कार्यकर्ता आ–आफ्नो ‘कित्ता क्लियर गर्न’ छलफलमा जुटेका छन् । देशका विभिन्न जिल्लामा पार्टी विभाजनको आशिंक असर पर्न सक्ने सम्भावना भएपनि दार्चुलामा एमाले एकताबद्ध रहेको नेताहरुले बताएका छन्। विगतमा माधव नेताल समुहमा रहेका सुदूरपश्चिमका एमाले नेताहरुले एमालेमै रहने वा नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भनेर छलफललाई तीव्रता दिएका छन् । यस्तै बैतडीमा माधव कुमार नेपाल कमजोर देखिएका छन्। एमालेका अध्यक्ष सुरेन्द्र पाल र सचिव लिलाधर भट्ट दुवै जना एमालेमै छन्। यी दुवै जना ओली निकट हुन्।
बैतडीमा आफ्नो पकड रहेको बताउदै जिल्ला कमिटीमा आफूहरुको बाहुल्यता रहेको एक नेताले बताउनुभयो । ७३ जनाको जिल्ला कमिटीमा ६५ भन्दा बढी एमालेमै रहेको दाबी गरिएको छ । सुदूरपश्चिममा माओबादीबाट लेखराज भट्ट एमालेमा आएको र भिम रावल समेत पार्टीमै रहेकोले पार्टी विभाजनको ठूलो असर नपर्ने नेताहरुको बुझाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया