राजधानीका विद्यालय खुल्न थाले, दार्चुलामा ढिलाई

दार्चुला । कोरोना सङ्क्रमणका कारण दार्चुलामा लामो समयदेखी विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाइ छुटेको छ । कतिपय विद्यार्थी र पुस्तकबिच त भेट हुनै मुस्कील भएको अभिभावकहरु बताउछन् । विद्यार्थीहरु घरको काम गरेर तथा गोठालो गएर दैनिकी विताइरहेका छन् । बैकल्पीक शिक्षाको पहुँचबाट समेत बञ्चित दुर्गमका विद्यार्थीका लागि तत्काल भौतिक रुपमा विद्यालय सञ्चालन गर्नुको बिकल्प नरहेको आवाजहरु उठ्न थालेका छन् ।

केहि महिना पहिले महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमण अहिले मथ्थर भएको छ । कोरोनाको सङ्क्रमण न्यूनिकरण भएसंगै कतिपय क्षेत्रमा विद्यालय सञ्चालन भइरहेका छन् । कोरोनाको उच्च जोखिम रहेको नेपालको राजधानी काठमाण्डौँका विद्यालय समेत स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन भइरहेको अवस्थामा दार्चुला लगायत दुर्गम र कोरोनाको सङ्क्रमण सामान्य रहेका जिल्लाहरुमा भने विद्यालय बन्द गरिएको छ । शैक्षिक सत्र शुरु भएको पाँच महिना बित्न लाग्दा समेत विद्यालय सञ्चालन नखुलेपछि विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने चिन्तामा अभिभावकहरु छन् । लेकम गाउँपालिकाको लटिनाथ नमुना माबि चौपाता लगायत केहि सिमित विद्यालयले साउनदेखि पठनपाठन शुरु गरेको भएपनि अधिकासं विद्यालयहरु बन्द हुँदा विद्यार्थीको पढाइ छुटिरहेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति दार्चुला र स्थानीय तहहरुले विद्यालय सञ्चालनका विषयमा निर्णय नगरेपछि चौतर्फी आलोचना समेत भइरहेको छ ।

काठमाण्डौँसहित विभिन्न शहरी जिल्लामा कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन भइरहदा दार्चुलामा किन यो विषयमा कुनै निर्णय गरिएन भन्दै आलोचनात्मक टिप्पणी भइरहेको छ । राजनीतिक सभा, समारोह गर्न कोरोनाको जोखिम नहुने तर स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्दा कसरी कोरोनाको जोखिम भयो भन्दै प्रश्नहरु उठ्न थालेका छन् । लेकम गाउँपालिकाका एक जना अभिभावकले भन्नुभयो, कोरोनालाई बाहाना बनाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको छ, शिक्षकहरुको तलब आएकै छ, अधिकासं शिक्षकहरु त जिल्ला बाहिर र तराइका जिल्लाहरुमा घर गएर बसेका छन, गाउँघरमा भएका शिक्षकपनि व्याक्तिगत काम गरिरहेका छन तर सरकारको तलब बुझेर विद्यार्थीको भविष्यबारे चासो, चिन्ता व्यक्त गरिएको देखिदैन, आफ्नो जिम्मेबारी पुरा गर्न शिक्षकहरु समेत तत्काल जाग्नुपर्ने बेला आएको उहाँको भनाई छ । शिक्षकहरुलाई समेत विद्यालय सञ्चालनका लागि सम्बन्धित शिक्षा शाखा, कार्यालय र डिसिसिएमसीले कुनै निर्णय नगर्दा समस्या भएको छ । सरोकारवाला निकायले समयमै निर्णय नगरे विद्यालय व्यवस्थापन समितिकै निर्णय गरेर भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रुपमा पठनपाठन गर्नुपर्ने लटिनाथ नमुना माबि चौपाताका प्रधानाद्यापक केशबराज बिष्टले बताउनुभयो । कतिपय विद्यालयका शिक्षक र अभिभावकहरुले समेत विद्यालय सञ्चालनका लागि आवश्यक कदम चाल्न शिक्षा शाखाहरु र कोभिड १९ संकट व्यवस्थापन समितिलाई अनुरोध गरेका छन् । अहिले स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने र कोरोना खोप नपाएका शिक्षक, विद्यार्थीहरुलाई जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने हुनैनाथ माबि रातामाटाका शिक्षक मनोज जोशीले बताउनुभयो ।

विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्न थालेका छन् । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न/गराउन सहरी क्षेत्रका प्रशासनले अनुमति दिदा समेत दार्चुलामा सरोकारवालाहरु निन्द्रामा रहेको भनेर टिप्पणी भइरहेको छ ।
विद्यालय सञ्चालन हुन नसकेको सन्दर्शमा प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई सम्पर्क गर्दा आइतबार (आज) यो विषयमा आवश्यक छलफल गर्न लागिएको बताउनुभयो । रेडियो लोकदर्पणसंगको कुराकानीका क्रममा उहाँले आइतबार बिहान ११ बजे कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक राखिएको र विद्यालय सञ्चालनको विषयमा समेत छलफल तथा निर्णय गरिने जानकारी दिनुभयो । सबैको सल्लाहका आधारमा विद्यालय सञ्चालन बारे निर्णय गरिने उहाँको भनाई छ । स्वास्थ्य सतर्कताका साथ तत्काल विद्यालय सञ्चालन गरेर विद्यार्थीहरुको शैक्षिक सत्र खेर जानबाट बचाउनुपर्ने बुद्धिजिबिहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?