दार्चुला । कोरोना सङ्क्रमणका कारण लामो सयमदेखि बन्द रहेका विद्यालय खुल्ने भएका छन् । दार्चुलामा आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय संचालन गर्न सकिने निर्णय गरेको हो । विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएकोबारे अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्ने प्रजिअ जोशीले बताउनुभयो । जनजीवन सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ ।
दार्चुलाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तह तत्कालका लागि कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ११ जनामात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म ६ हजार ३ जनाको कोरोना परीक्षण गर्दा १ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । सङ्क्रमितमध्ये एक हजार १८५ जनाले कोरोना जितेका छन् भने ३ जना महिला सहित ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणका कारण पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाइ छुटेको छ । कतिपय विद्यार्थी र पुस्तकबिच त भेट हुनै मुस्कील भएको अभिभावकहरु बताउछन् । विद्यार्थीहरु घरको काम गरेर तथा गोठालो गएर दैनिकी विताइरहेका छन् । बैकल्पीक शिक्षाको पहुँचबाट समेत बञ्चित दुर्गमका विद्यार्थीका लागि तत्काल भौतिक रुपमा विद्यालय सञ्चालन गर्नुको बिकल्प नरहेको आवाजहरु उठ्न थालेका छन् । केहि महिना पहिले महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमण अहिले मथ्थर भएको छ । कोरोनाको सङ्क्रमण न्यूनिकरण भएसंगै कतिपय क्षेत्रमा विद्यालय सञ्चालन भइरहेका छन् । शैक्षिक सत्र शुरु भएको पाँच महिना बित्न लाग्दा समेत विद्यालय सञ्चालन नखुलेपछि विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने चिन्तामा अभिभावकहरु छन् । लेकम गाउँपालिकाको लटिनाथ नमुना माबि चौपाता लगायत केहि सिमित विद्यालयले साउनदेखि पठनपाठन शुरु गरेको भएपनि अधिकासं विद्यालयहरु बन्द हुँदा विद्यार्थीको पढाइ छुटिरहेको छ । राजनीतिक सभा, समारोह गर्न कोरोनाको जोखिम नहुने तर स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्दा कसरी कोरोनाको जोखिम भयो भन्दै प्रश्नहरु उठ्न थालेका छन् ।
लेकम गाउँपालिकाका एक जना अभिभावकले भन्नुभयो, कोरोनालाई बाहाना बनाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको छ, शिक्षकहरुको तलब आएकै छ, अधिकासं शिक्षकहरु त जिल्ला बाहिर र तराइका जिल्लाहरुमा घर गएर बसेका छन, गाउँघरमा भएका शिक्षकपनि व्याक्तिगत काम गरिरहेका छन तर सरकारको तलब बुझेर विद्यार्थीको भविष्यबारे चासो, चिन्ता व्यक्त गरिएको देखिदैन, आफ्नो जिम्मेबारी पुरा गर्न शिक्षकहरु समेत तत्काल जाग्नुपर्ने बेला आएको उहाँको भनाई छ । सरोकारवाला निकायले समयमै निर्णय नगरे विद्यालय व्यवस्थापन समितिकै निर्णय गरेर भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रुपमा पठनपाठन गर्नुपर्ने लटिनाथ नमुना माबि चौपाताका प्रधानाद्यापक केशबराज बिष्टले बताउनुभयो । कतिपय विद्यालयका शिक्षक र अभिभावकहरुले समेत विद्यालय सञ्चालनका लागि आवश्यक कदम चाल्न शिक्षा शाखाहरु र कोभिड १९ संकट व्यवस्थापन समितिलाई अनुरोध गरेका छन् । अहिले स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने र कोरोना खोप नपाएका शिक्षक, विद्यार्थीहरुलाई जतिसक्दो चाडो खोपको व्यवस्था गर्नुपर्ने हुनैनाथ माबि रातामाटाका शिक्षक मनोज जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया