दार्चुला । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको कांग्रेसले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको बताउँदै केही स्थानमा भने मतदान गर्नुपरेको सम्बन्धित जिल्लाले जनाएका छन् ।
दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा मात्रै वडा सभापतीका लागि निर्वाचन भएको छ । जिल्लाका ६० वडामा सहमतिमै नेतृत्व चयन भएको काग्रेश दार्चुलाले जनाएको छ । तर कैलाली र बाजुरामा क्रियाशील सदस्यको नामावली नै प्रकाशन नभएपछि अधिवेशन अनिश्चित बनेको छ भने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति कर्णबहादुर मल्लको बहिष्कारका बीच शुक्रबार वडा अधिवेशन हुँदैछ ।
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली ९ जिल्लामध्ये सबैभन्दा ठूलो हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा एक सय २६ वडा रहेका छन् । ९ वटा स्थानीय तहका ६९ वडा रहेको बाजुरामा समेत क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा वडा अधिवेशन हुन सकेको छैन । जिल्ला सभापति कविराज पण्डितले एक÷दुई दिनमा क्रियाशील सदस्यहरुको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको बताउँदै त्यसपछि वडा अधिवेशनको मिति तय गरिने जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया