शुल्क उठाएर निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन अनिश्चित

दार्चुला । नेपाली कांग्रेस बझाङको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत नगदसहित सम्पर्कविहीन भएका छन् । अधिवेशनका क्रममा उम्मेदवारी दर्तावापतको शुल्क लिएर निर्वाचन अधिकृत बेपत्ता भएपछि बझाङ कांग्रेसमा अन्योल देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिबाट जिल्ला मतदान अधिकृतका रुपमा खटिएका डडेलधुराका चेतराज भट्ट निर्वाचन नगराई सम्पर्कविहीन भएका हुन् । उहाँको साथमा अधिवेशनमा उम्मेदवारी शुल्कवापत उठेको करिब ७ लाख रकम रहेको बताइएको छ । बझाङमा असोज १५ गते जिल्ला अधिवेशन उद्घाटन भएको थियो भने असोज १६ गते शनिबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । २५ जना महाधिवेशन प्रतिनिधिका लागि ७५ जनाले ५ हजारका दरले शुल्क बुझाएर उम्मेदवारी दर्ता गरेका थिए । त्यस्तै जिल्ला सभापतिका उम्मेदवारहरु खडबहादुर बोहरा र रमेशबहादुर भण्डारीले १०(१० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाएका थिए । निर्वाचन समितिले जिल्ला उपसभापति र सचिवका लागि ७ हजार तथा सहसचिवका लागि ६ हजार रुपैयाँ शुल्क लिएको थियो ।

‘आज निर्वाचन गराउनुपर्ने हो तर निर्वाचन अधिकृत नै वेपत्ता भएकोले अन्यौल बढेको छ । उहाँसंग अधिवेशनका लागि उठाइएको लाखौं पैसा पनि छ । उहाँ भागेको हो वा हार्ने देखेर लुकाइएको हो थाहा भएन’, बझाङका एक क्षेत्रीय प्रतिनिधिले भन्नुभयो । बझाङमा संस्थापन पक्षकै दुई उम्मेदवार सभापतिको प्रतिस्पर्धामा थिए । खडगबहादुर बोहरालाई संस्थापनइतर समूहका नेताहरुको पनि सहयोग रहेको थियो ।

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि एक पक्षले तत्काल अर्को निर्वाचन अधिकृत तोकेर मतदान गराउन माग गरेको छ भने अर्को पक्ष दसैँपछि चुनाव गराउनुपर्ने पक्षमा देखिएको छ । हामीले सम्पर्क गर्न खोज्दा निर्वाचन अधिकृत भट्टको मोबाइल स्वीच अफ थियो भने फेसबुकमा शनिबारमात्रै उहाँले ‘बझाङको बार्दलीबाट’ भन्दै फोटो पोस्ट गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?