दार्चुला । साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । बुधबार बेलुकी बंगलादेशलाई हराएर इतिहास रच्दै नेपाल फाइनल प्रवेश गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।
फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए । सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्थानमा सीमित बनेको छ । टोलीले प्रतियोगिताका पछिल्ला ११ संस्करणमा विजेता या उपविजेता बनेको छ ।
उता, नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो अवसर हो । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ । बुधबार साँझ प्रधानमन्त्री देउवाले ट्वीटमार्फत आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन पनि दिनुभयो ।
अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया