दार्चुला । आइतबारबाट परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या सुदूरपश्चिम प्रदेशका ३१ जनासहित ९९ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बिहीबार बिहान १२ बजेसम्म बाढीपहिरो र डुबानबाट ९९ जनाको मृत्यु भएको बताउनुभयो । साथै ४० जना बेपत्ता र ३५ जना घाइते भएको प्रवक्ता कुँवरले बताउनुभयो । प्रदेश १ मा मात्रै बाढीपहिरो र डुबानबाट ५८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते र १२ जना बेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जनाको घाइते र २३ जना बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेशका डोटीमा १६ जनाको मृत्यु, ११ जना घाइते भएका छन् । डडेल्धुरामा दुई जनाको मृत्यु, दुई जनाको घाइते भएका छन् । बैतडीमा चार जनाको मृत्यु, दुई जना घाइते र एक जना बेपत्ता भएका छन् । बझाङमा आठ जनाको मृत्यु, एक जना घाइते र २१ जना बेपत्ता भएका छन् । कैलालीमा एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । साथै बाजुरामा एक जना घाइते भएका छन् । आइतबार अपराह्नदेखि सुदूरपश्चिमबाट शुरु भएको बेमौसमी वर्षा पूर्वी नेपालसम्म पुग्दा ठूलो मानवीय क्षति, कृषिबाली र अन्य भौतिक नोक्सानी भएको छ ।
प्रदेश १ को इलामा १३ जनाको मृत्यु भएको छ भने, पाँच जना घाइते र दुई जना बेपत्ता भएका छन् । पाँचथरमा २६ जनाको मृत्यु, आठ जना घाइते र चार जना बेपत्ता भएका छन् । धनकुटामा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । साथै सुनसरीमा आठ जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । उदयपुरमा दुई जनाको मृत्यु भएका छ । मोरङमा एक जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् भने भोजपुरमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
त्यस्तै प्रदेश २ मा एक जना मात्र बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशको प्यूठानमा एक जनाको मृत्यु, दुई जना बेपत्ता र कपिलवस्तुमा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । बाग्मती प्रदेशको सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानबाट एक जनाको मात्रै मृत्यु भएको छ । कर्णाली प्रदेशमा सात जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । कर्णाली प्रदेशको हुम्लामा छ जनाको मृत्यु भएको छ । जुम्लामा एक जना बेपत्ता भएका छन् भने कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया