दार्चुला । नेकपा एमालेले बैतडीका ८४ ओटै वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ मा आइतबार वडा अधिवेशन सम्पन्न भएसंगै ८४ ओटै वडामा अधिवेशन सम्पन्न भएको प्रदेश सांसद एवं एमाले जिल्ला सचिव लिलाधर भट्टले बताउनुभयो ।
८४ ओटै वडामा सर्वसम्मत रुपमा नयाँ कमिटि गठन गरिएको उहाँले बताउनुभयो । वडा अधिवेशन सम्पन्न गरेसंगै भोली (सोमबार) पालिका अधिवेशन हुने एमालेले जनाएको छ । बैतडीका १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नका लागि प्रतिनिधि खटाइएको समेत सचिव भट्टले बताउनुभयो ।
मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा अधिवेशन सम्पन्न गर्न सचिव भट्ट आँफै प्रतिनिधिको रुपमा खटिनुभएको छ । यस्तै पञ्चेश्वरमा केन्द्रिय सदस्य पुरनसिंह दयाल, पाटन नगरपालिकामा प्रदेश कमिटी सदस्य मोहनसिंह थापा, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशी (लख्खाभाई), पुर्चौंडी नगरपालिकामा संघीय सांसद एवं प्रदेश कमिटी सदस्य दामोदर भण्डारीलाई खटाइएको छ ।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकामा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, दोगडाकेदार गाउँपालिकामा जिल्ला उपसचिव चक्रबहादुर कार्की, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विश्वकर्मा र सिगास गाउँपालिकामा जिल्ला सचिवालय सदस्य रमील बमलाई प्रतिनिधिको रुपमा खटाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया