दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकालाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुई बर्ष पहिले दिएको एम्बुलेन्स सडकमै थन्किएको छ । प्रदेश सरकारले दिएको एम्बुलेन्स सञ्चालन गर्न सकिने अवस्था नरहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रका कच्ची सडकहरुमा चलाउनै सकिदैन्, उहाँले भन्नुभयो, कालोपत्रे सडक कहाँबाट ल्याउने ? दुहुँको एम्बुलेन्स बिग्रिएर बाटो मै थन्किएको आधा बर्ष बढी भइसकेको छ ।
एम्बुलेन्स सञ्चालन गर्दा इन्धन तथा मर्मत खर्च बढी लाग्ने गरेको गाउँपालिकाले जनाएको छ । कोभिडको समयमा चलाएका थियौं, मर्मतमै ८/१० लाख खर्च भयो, अध्यक्ष कार्कीले भन्नुभयो, धनगढी जान मात्रै ८० लिटर डिजल खर्च हुन्छ, त्यो एम्बुलेन्स कसरी चलाउने ? एम्बुलेन्स मर्मत गरी मन्त्रालयलाई फिर्ता गर्ने तयारी गरेको उहाँले बताउनुभयो । अहिले एम्बुलेन्सलाई महाकाली नगरपालिकाको श्रीबगडमा राखिएको छ । गाउँपालिकाले बिरामीलाई जिपमा बोकेर सेवा दिने गरेको छ ।
यसैगरी बैतडीको डिलाशैनी गाउँपालिकाले पनि एम्बुलेन्स मन्त्रालयलाई दिएर सानो एम्बुलेन्स माग्ने तयारी गरेको छ । एम्बुलेन्स धेरै खर्चिलो भएकाले फिर्ता गरेर सानो एम्बुलेन्स माग्ने तयारी गरेको डिलाशैनी गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारले दुई बर्ष पहिले वितरण गरेका एम्बुलेन्सहरुमा ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, गति लिन खोजे पल्टिने लगायतका समस्या देखिने गरेको गुनासो छ ।
पहाडी जिल्लामा वितरण गरिएका ४ वटा एम्बुलेन्स फिर्ता भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धनगढीस्थित सामाजिक विकास मन्त्रालयले २ वर्ष अघि एम्बुलेन्स खरिद गरी सुदूरपश्चिम प्रदेशका सबै जिल्ला अस्पताल र केही पालिकालाई वितरण गरेको थियो । पहाडी जिल्लामा एम्बुलेन्सको पहुँच पुर्याउने उद्धेश्यले खरिद गरिएका ती एम्बुलेन्स अहिले पहाडमै थन्किएका छन् ।
धनगढी र महेन्द्रनगरका अस्पतालसम्म बिरामी ल्याउन सक्ने अवस्थामा छैनन् । कति त बिग्रेर सडक मै छाडिएका छन् । पुराना ट्रकलाई मोडीफाई गरी एम्बुलेन्स बनाएको भन्दै प्रदेश सरकारको त्यतिबेला पनि आलोचना भएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पहाडबाट फिर्ता भएका एम्बुलेन्स तराइमै प्रयोग गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले २०७६ साल पुसमा १६ एम्बुलेन्स खरिद गरी वितरण गरेको थियो । अहिले एम्बुलेन्स सडकमै थन्किएपछि बिरामीहरुले सास्ती भोग्नुपरेको छ भने सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया