दार्चुला । महाकाली नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालबिकास शिक्षक (सहजकर्ता) र विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । संघर्ष समितिले आन्दोलनको पहिलो दिन हातमा कालोपट्टी बाधि धर्ना दिएका थिए । मंगलवार (आज) महाकाली नगरपालिकामा बसेको समन्वयात्मक बैठकले न्युनतम पारिश्रमिक उपलब्ध गर्न स्रोत सुनिश्चिताका लागि पहल गर्ने सहमति गरेपछि आन्दोलन स्थगित गरिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्याउने घोषणा गरेको थियो । संघीय सरकारबाट ८ हजार उपलब्ध भएको र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने अवस्था आएकोले समस्या भएको नगरपालिकाले जनाएको छ । भुक्तानी हुन बाँकी तलब अर्थात सात हजारका दरले १३ महिनाको हुन आउने रकम बराबरको स्रोत सुनिश्चिताका लागि पहल गर्ने सहमति नगरपालिकासँग भएको सामुदायिक विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिले जनाएको छ । स्रोत सुनिश्चिताका लागि यथासिघ्र पहल गर्ने गरी महाकाली नगरपालिकासँग सहमति भएकोले घोषित संघर्षका कार्यक्रम स्थगित गरिएको हो ।
आन्दोलित शिक्षकहरुले मंसिर २१ गते मैनबत्ति जुलुस, मंसिर २२ गते घण्टि जुलुस र २३ गते तालाबन्दीनै गर्ने तयारी गरेपनि स्रोत सुनिश्चितताको लागि पहल गर्ने नगरपालिकोको सहमतिपछि तत्कालका लागि संघर्षका सबै कार्यक्रम स्थागित गरिएको संघर्ष समितिले जनाएको छ । दार्चुला र बैतडीका विभिन्न स्थानीय तहमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारी तोकिएको तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । अहिलेसम्म दार्चुलाको नौगाड गाउँपालिकाले मात्रै सरकारले नीतिगत व्यवस्था गरेको १५ हजार पारिश्रमिक उपलब्ध गराउन तयार भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया