अपिहिमालमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ‘शिक्षक डायरी र गृहकार्य पुस्तीका’(भिडियोसहित)

दार्चुला । शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी र गृहकार्य पुस्तीका’ लागू गरिएको छ । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पु¥याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एबं शिक्षा अधिकृत बिरेन्द्र सिंह साउदले जानकारी दिनुभयो ।

शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्यरूपमा शिक्षक डायरी लागू गरिएको शिक्षा अधिकृत साउदले बताउनुभयो । शिक्षकहरु तयारी बिना कक्षामा आउछन भन्ने गुनासो आएपछि शिक्षकहरुलाई सक्रिय बनाउन शिक्षक डायरी वितरण गरिएको छ, शिक्षा अधिकृत साउदले भन्नुभयो, शिक्षक डायरीको प्रभावकारीता बारे नियमित अनुगमन भइरहेको छ । शिक्षकले कक्षागत रुपमा वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षणिक योजना (लेसन प्लान) बनाई प्रभावकारीरूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो । बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न र उद्धेश्य प्राप्तीमा समेत सहजता होस भनेर शिक्षक डायरी लागु गरिएको बताइएको छ ।

डायरीमा शिक्षकले अध्यापन गराउने सबै कक्षाका विद्यार्थीको सम्पूर्ण अभिलेख आफूसँगै रहने भएकाले शिक्षकका लागि यो आफैँले तयार गरेको कामको एउटा दस्तावेजका रूपमा रहेको उहाँको भनाइ छ । डायरीले शिक्षकको कामको स्वमूल्याङ्कन गर्ने भएकाले यो एउटा पथप्रदर्शकका रूपमा रहेको गाउँपालिकाले जनाएको छ । डायरीअनुसार शिक्षकले कक्षा कोठामा प्रवेश गर्दा पाठयोजनासहित प्रस्तुत हुने भएकाले विद्यार्थीको पढाइ उपलब्धिमूलक हुने खण्डेश्वरी माबिका शिक्षक जयराज जोशीले बताउनुभयो । शिक्षकले अध्यापनको कार्य गराउँदा विभिन्न शैक्षिक विधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै । विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ । शिक्षकको मूल्याङ्कनसमेत हुने भएकाले अध्यापनकार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले समेत मेहेनत गर्ने गरेको बताइएको छ । शिक्षकहरुले पुर्नताजगी तालिमको समेत माग गरेका छन् ।

यस्तै विद्यार्थीहरुलाई गृहकार्य दिए नदिएको अनुगमन गर्न गृहकार्य पुस्तीका पनि लागु गरिएको छ । गृहकार्य पुस्तीकामार्फत घरमा विद्यार्थीले गृहकार्य गरे नगरेको अभिभावकले समेत निरीक्षण गरेर अभिभावकको समेत हस्ताक्षर गर्नुपर्ने सूचक राखिएको छ । यसरी विद्यार्थीको पढाइमा अभिरुचि बढ्ने, नियमितता हुने, अभिभावकको समेत ध्यान जाने र सिकाइमा सुधार हुने अपेक्षा गरिएको छ । शिक्षक डायरी र गृहकार्य पुस्तीका लागु भएपछि सकारात्मक प्रतिकृया आएको जनाइएको छ । स्थानीय तह स्थापनापछि पाठ्यक्रम परिवर्तन हुँदा समेत शिक्षकलाई तालिमको व्यवस्था नभएकोले पुर्नताजगी तालिमको आयोजना गर्ने योजना रहेको शिक्षा अधिकृत साउदले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकामा चार वटा माबिसहित २३ विद्यालय रहेका छन् । गाउँपालिकाभरी ५० कोटा स्थायी, १५ राहत र ७ जना प्राविधिक धारमा शिक्षकहरु कार्यरत छन् । १५ वटा सामुदायिक बालबिकास केन्द्र सञ्चालन गरिएको छ । अपिहिमाल गाउँपालिकाले शिक्षक दरबन्दी अभावमा ७५ जना निजि शिक्षक नियुक्त गरेको छ । सरकारले दरबन्दी अनुसार शिक्षक नपठाएपछि बाध्य भएर ठूलो संख्यामा गाउँपालिकाबाट शिक्षक नियुक्त गर्नुपरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । केन्द्र सरकारबाट १२ जना बालबिकास सहजकर्ता मात्रै उपलब्ध गराएकोमा गाउँपालिकाले २५ जना थप गरेको छ । गाउँपालिकामा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीलाई २०७८ साल कार्तिक महिनादेखि लागु हुने गरेर मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

अपिहिमाल गाउँपालिकाको समग्र शैक्षिक बस्तुस्थिति र कार्यक्रमको बारेमा जानकारी पाउन शिक्षा अधिकृत बिरेन्द्रसिह साउदसंग गरिएको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?