दार्चुला । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन गरिएको छ । नेपाल सरकार, कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस र जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आजदेखि विद्यालय सञ्चालन भएका हुन् । जिल्लाभरीका सबै स्थानीय तहमा विद्यालय खुलेसंगै पठनपाठन कार्यले निरन्तरता पाएको छ ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो । सोही अनुसार आजदेखि दार्चुलासहित देशभरका विद्यालय सञ्चालन भएका हुन् ।
यसैगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आजदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल सञ्चालन हुने बताइएको छ ।
त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तरराष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।
रेडियो लोकदर्पणबाट पाठशाला सुरु
मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो लोकदर्पण ९४.६ मेगाहर्जबाट कक्षा ४ देखि १० सम्मको पाठ्यक्रममा आधारित कक्षाहरुको पठनपाठन सुरु भएको छ । लेकम गाउँपालिकाको सहकार्यमा रेडियो लोकदर्पणबाट हरेक दिन पठनपाठन भइरहेको हो । माघ २८ गते शुक्रबार देखि चैत मसान्तसम्म कक्षा ४ देखि १० सम्मका विषयहरु रेडियोबाट पढाइ भइरहेको छ ।
हरेक दिन विहान ७ः३० देखि ८ बजेसम्म कक्षा ४, ५ र ६ का कक्षाहरुको पढाइ भइरहेको छ । विहान ८ बजेको समाचारपछि ९ बजेसम्म कक्षा ७ को कक्षाहरुको पढाइ भइरहेको छ । बेलुकी ५ बजेको समाचारपछि ६ बजेसम्म कक्षा ८ का कक्षाहरु, बेलुकी ८ देखि पौने ९ बजेसम्म कक्षा ९ का कक्षाहरु र राती सवा ९ बजेदेखि १० बजेसम्म कक्षा १० का कक्षाहरुको बढाइ भइरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को कारण विद्यालयहरुको पठनपाठन अनियमित तथा बन्द भएको छ । बालबालिका घरैमा बस्दा शिक्षक, विद्यार्थी र अभिभावक दिक्क र चिन्तित छन् । कतिपय विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठन गराउन सुरु गरे पनि आम पहुँच पुग्न नसक्दा स्थानीय तहमा पठनपाठनको वैकल्पिक विधि अबलम्बन गर्नु अत्यावश्यक छ । विद्यालय सञ्चालन भएपनि पाठहरु पुरा गर्न समय निकै कम भएकोले रेडियोबाट समेत कक्षाहरु सञ्चालन गर्न लागिएको हो । फागुन १ गते (आज) देखि विद्यालय सञ्चालनमा आएका छन् । अहिलेकै अवस्थामा शैक्षिक संस्थाहरु सञ्चालनमा आएपनि पाठ्यक्रम पुरा पढाउन र पुर्नताजगी गर्न रेडियो कार्यक्रम पाठशालाले महत्तपुर्ण सारथीको भूमिका निर्वाह गर्न सक्छ ।
रेडियो कार्यक्रमले शिक्षा क्षेत्र र विद्यार्थीको सीकाइमा सहयोग पुर्याउनका लागि सञ्चारको क्षेत्रबाट हातेमालो गर्ने उदेश्यका साथ चालु आर्थिक बर्ष २०७८÷०७९ मा दैनिक रेडियो कार्यक्रम शैक्षिक पाठशाखा सञ्चालन गर्न लागिएको रेडियो लोकदर्पणका कार्यक्रम संयोजक नरेन्द्र जोशीले जानकारी दिनुभयो । रेडियोको दायित्त निर्वाह गर्नका साथै विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर रेडियोको महत्तपूर्ण समयमा समेत रेडियो कक्षाहरु सञ्चालन गर्न लागिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया