दार्चुला। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दिपेन्द्र पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेल्धुरा अस्पतालको निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।
डा. पाण्डे त्रिशुली अस्पतालमा मेडिकल सुपरिटेन्डन्ट थिए । त्रिशुली अस्पतालको मेसु रहँदा डा. पाण्डेले राम्रो काम गरेका कारण सरकारले डडेल्धुरा अस्पताल सरुवा गरेको मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताउनुभयो ।
डडेल्धुरा अस्पताल संघीय अस्पताल हो । त्यहाँ एघारौँ तहको प्रमुख हुने व्यवस्था छ । तर माथिल्ला तहका चिकित्सक त्यहाँ पठाउन नसकिएको मन्त्रालयले जनाउँदै आएको छ ।
दुई वर्ष त्रिशुली अस्पतालका मेसु बनेका पाण्डेले अस्पताल सुधारका लागि राम्रा प्रयास गरेका थिए । ‘डा. पाण्डेले त्रिशुलीमा राम्रो काम गर्नुभएको छ’, ढकालले भन्नुभयो, ‘उहाँलाई डडेल्धुरा अस्पताल सुधारकै लागि पठाइएको हो ।’
१४ वटा विभाग रहेको संघ अन्तर्गतको डडेल्धुरा अस्पताल १ सय बेड क्षमताको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




