दार्चुला । एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि सत्ता गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । दार्चुलामा सत्ता गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री कांग्रेश नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री तथा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।
दार्चुलामा गत वैशाखमा सम्पन्न स्थाानीय तहको नतिजा हेर्दा एमालेको पकड बलियो छ । पालिका निर्वाचनमा नेपाली कांग्रेससंग गठबन्धन हुँदा माओवादी केन्द्रले चार गाउँपालिकामा जित हासिल गरेको छ । एमालेले दुई नगरपालिकासहित पाँच पालिकामा जित हात पार्दा कांग्रेशले कुनै पनि स्थानीय तह अध्यक्ष वा प्रमुखमा जित हात पार्न सकेको छैन् । २०४८ सालमा निर्वाचित भए यता बडूले पटकपटक सत्तामा बस्ने अवसर पाउदै आउनुभएको छ । हालसम्म पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा समेत देखिने गरी जिल्लाका लागि काम गर्न नसकेको उहाँमाथि आरोप लाग्दै आएको छ । २०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जित्नुभएको थियो भने २०७४ सालमा सामानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा एमालेका स्वर्गिय नेता प्रेमसिंह धामी सँग बडू पराजीत हुनुभएको थियो ।
मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आउनुभएको छ । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना माओवादी नेता लक्ष्मणदत्त जोशीसंग पराजित हुनुभएको थियो । २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले संसदको यात्रा सुरु गर्नुभयो । २०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्नासंग कांग्रेशका बिक्रमसिंह धामीले प्रतिस्पर्धा गर्नुभयो । बाम गठबन्धनका साझा उम्मेदवार ठगुन्नाले धामीलाई छ हजार ७६५ मतान्तरले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यसपघि दुई पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा भइरहेको छ । यसपटक ठगुन्नाले चुनाव जिते उहाँको ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि दार्चुलाबाट तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्नुहुनेछ । ७० वर्षीय बडू र ५३ वर्षीय ठगुन्नाबिच यसपटकको चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
यस्तो छ अंकगणित
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा दार्चुलाबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले माओबादी केन्द्रको सहयोगमा २८ हजार ९९८ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामीले ठगुन्नाको भन्दा छ हजार ७६५ कम अर्थात २२ हजार २३३ मत प्राप्त गर्नुभएको थियो । अहिले गठबन्धनको समिकरण फेरीएपनि स्थानीय तह निर्वाचन २०७९ को नतिजा हेर्दा गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिएको छ । नौँ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच पालिकाको प्रमुख एवं अध्यक्षमा एमालेले जित हात पारेको छ भने एक स्थानीय तहमा उपाध्यक्षसहित बहुमत हासिल गरेको छ । माओबादी केन्द्रले चार स्थानीय तहको नेतृत्व पाउँदा कांग्रेश सुन्य रहेको छ ।
स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र हेर्ने हो भने शैल्यशिखरमा एमालेले पाँच हजार ५०९ र गठबन्धनले चार हजार ६६२ मत पाएको छ । महाकालीमा एमालेले पाँच हजार तीन मत र गठबन्धनले तीन हजार ८८७ मत पाएको छ । मालिकार्जुन गाउँपालिकामा एमालेले चार हजार ३४ र गठबन्धनले तीन हजार ३२२ मत पाएको छ । नौगाडमा एमालेले तीन हजार २७७ र गठबन्धनले तीन हजार ७८३ मत पाएको छ । लेकममा गठबन्धनले दुई हजार ९७६ र एमालेले दुई हजार ४४५ मत पाएको छ । दुहुँमा गठबन्धनले दुई हजार ७९६ र एमालेले दुई हजार ८८६ मत पाएको छ । व्यासमा गठबन्धनले दुई हजार ३९६ र एमालेले दुई हजार ९४९ मत पाएको छ । मार्मामा गठबन्धनले तीन हजार ६१६ र एमालेले दुई हजार ९१४ मत पाएको छ । अपिहिमालमा गठबन्धनले दुई हजार ३१२ र एमालेले एक हजार ३८५ मत पाएको छ ।
समग्रमा कांग्रेश, माओबादीसहितको गठबन्धनले २९ हजार ७५० मत पाउदा एमाले एक्लैले ३० हजार ४०२ मत प्राप्त गरेको छ । दार्चुलामा राप्रपाले १९१ र नेकपा (एकीकृत समाजवादी) ले १५३ मत प्राप्त गरेको छ । समग्रमा यसै वर्षको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा अनुसार गठबन्धनको भन्दा एमाले एक्लैको साढे छ सय मत बढी देखिन्छ ।
चुनाव जित्ने दुबैको दाबी
आसन्न निर्वाचनमा आफुले जित्ने दाबी एमाले र गठबन्धन दुबैको सुनिन्छ । मन्त्री बडूलाई चुनाव जित्न गठबन्धनको भर पर्नुपर्ने देखिन्छ । पूर्वमन्त्री ठगुन्नाले पनि २०७४ को भन्दा कडा मेहनत गर्नुपर्ने देखिन्छ । एमालेमा संगठन तथा आन्तरिक एकता बलियो हुनु, स्थानीय तह निर्वाचनको मतपरिणाम अनुकुल हुनु, पालिका चुनावपछि कांग्रेश, माओबादी र समाजवादीका केही प्रदेश र जिल्ला कमिटीका नेतासहित कार्यकर्ताले एमाले प्रवेस गर्नु, ठगुन्नाले विकासवादी नेताको छबि कायम राख्नु जस्ता कारणले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ ।
आफुले पाँच हजार बढी मतान्तरले चुनाव जित्ने प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको भनाई छ । सच्चा कम्युनिष्टले कांग्रेशलाई भोट नहाल्ने भएकोले कम्तिमा माओबादीको ४० प्रतिषत र इमानदार कांग्रेश कार्यकर्ताको २० प्रतिषत भोट आफुलाई प्राप्त हुने ठगुन्नाको दाबी छ ।
बडूलाई पनि माओवादी केन्द्रका मतदाताहरुको बलियो साथ मिल्ने विस्वासका साथ चुनाव जित्ने दाबी देखिन्छ । गठबन्धनका सबै पार्टीको मत जोड्दा एमालेको हाराहारीमा पुग्नु, केन्द्रीय राजनीतिमा बलियो प्रभाव हुनु, अहिले पनि सरकारमा हुनु जस्ता कारणले बडू चुनाव जित्ने कांग्रेशको दाबी देखिन्छ ।
दार्चुलाबाट प्रतिनिधि सभाका लागि बडू र ठगुन्नासंगै राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामी गरी नौँ जनाको उम्मेदवारी रहेको छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवार आफुले जित्ने दाबी सहित प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन जित्नु आवश्यकः मन्त्री बडू
मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको चुनाव चुनाव मात्रै नभएर एउटा मान्दोलन भएको बताउदै आउनुभएको छ । संविधानमै व्यवस्था नभएको कदम चालेर दुई–दुई पटक संसद् भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहा विरुद्ध बामलोकतान्त्रिक गठबन्धनको जन्म भएकोले लोकतन्त्रको रक्षा र विकासको लागि गठबन्धनले जित्नु आवश्यक रहेको बडूको भनाई छ । संबिधानमाथि खतरा कायमै रहेकोले यो गठबन्धन बनेको उहाँको भनाई छ । साथै उहाले आफु मन्त्री भएपछि समग्र देशको विकासका लागि काम गरेको दाबी गर्नुभयो । २०४८ सालपछि कांग्रेशले जिल्लाको विकास गरेको बडूको भनाई छ ।
आफुले उद्योग मन्त्रालय सम्हाले पछि जिल्लाका विभिन्न स्थानमा खाद्य डिपोहरु संचालनमा आएको, नेपाल भारत जोड्ने मोटरेबल पुलको शिलान्यास भएको, दार्चुलाको च्याग्रा काठमाण्डौमा बिक्रि भएको, उद्यामीलाई प्रविधि हस्तान्तरण गरिएको र यस्ता धेरै काम गर्न एक पटक गठबन्धनलाई जिताउन मन्त्री बडूले आग्रह गर्नुभयो । आफुले सरकारमा पुग्दा दार्चुलाका लागि केही न केही काम गरेको उहाँको दाबी छ । आफुले खानेपानी, शिक्षा, विद्युत, सडक, खाद्यान्न लगायत विभिन्न क्षेत्रमा महत्तपूर्ण काम गरेको बडूले बताउनुभयो ।
सीमा सुरक्षा, विकास र समृद्धिको लागि एमाले जित्नु आवश्यकः ठगुन्ना
एमाले पोलिटव्यूरो सदस्य ठगुन्नाले सीमा सुरक्षा र जिल्लाको समग्र विकासका लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभयो । २०४८ सालदेखि पटकपटक अवसर पाउँदा पनि जिल्लाको लागि सिन्को भाँच्न नसकेका बडूले अहिले पनि अन्तिमपटक भन्दै मत माग्ने गरेका छन्, नेता ठगुन्नाले भन्नुभयो, तर जिल्लाको लागि यतिका वर्षसम्म अवसर पाएर के देखिने काम गर्नुभयो । जनतालाई भ्रममा राखेर जिल्लाको लागि केही गर्न नसक्ने अनि जनतामाझ डायरी लिएर भुलाउने काममा बडू लागेको भन्दै उहाँले यस्तो झुट अब जिल्लाले चिन्नुपर्ने बताउनुभयो ।
मैले २०७० सालदेखि जिल्लाको लागि भनेका कामहरु पूरा गरेको छु, ठगुन्नाले भन्नुभयो, केही निर्माणकै चरणमा छन् । आफुले सुरु गरेका महत्तपूर्ण अधुरा कामहरु पूरा गर्न अहिले पनि एमालेले जिल्लाबाट जित्नुपर्ने ठगुन्नाको भनाई छ । संविधान विरोधी एमाले नभइ अहिलेको गठबन्धन हो, उहाँले भन्नुभयो, देशलाई सेटिंगमा चलाएको छ, अदालतलाई हातमा लिएर सरकारले मनलाग्दी गर्दै आएको छ ।
महाकाली करिडोर, दार्चुला तिङ्कर सडक लगायत विभिन्न क्षेत्रका दर्जनौँ सडक, गोकुलेश्वर विमानस्थल, लेकम र मालिकार्जुनको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, पर्यटन, खेल, सीमा सुरक्षा, सामाजिक सुरक्षा लगायत दार्चुलामा विभिन्न क्षेत्रका सयौँ योजना एमालेले सुरु गरेको ठगुन्नाको भनाई छ । एमालेकै नेतृत्व र पहलमा दार्चुलाको अतिक्रमित भूमि नक्सामा समेटिएको र भूमि फिर्ताका लागि समेत एमालेले जित्नु आवश्यक रहेको उहाँको भनाई छ । आफुले सुरु गरेका महत्तपूर्ण योजनाहरु सम्पन्न गरी दार्चुलालाई समृद्ध बनाउन एमालेले जित्नु आवश्यक रहेको उहाँले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




