भारतको बलमिच्याइँविरुद्ध जनता आक्रोशित, दुबै देशका अधिकारीबिच छलफल (भिडियोसहित)

दुर्गादत्त मिश्र, दार्चुला । महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि डेढ वर्ष पहिले व्याँसका जयसिंह धामी नदीमा बेपत्ता भए । नेपालकै भूमि प्रयोग गरेर केही वर्ष यता नदी किनारमा भारतले जबरजस्ती अतिक्रमित नेपाली भूमि लिपुलेकसम्म सडक विस्तार गर्यो । सडक निर्माणकै क्रममा गरिएको विस्फोटमा उच्छिटिएर आएको ढुंगा लागी बाटोमा हिडिरहेका नौँ वर्षीय पवन महराको ज्यान गयो । अन्तरराष्ट्रिय कानून विपरीत एकतर्फी ढंगले सीमामा पक्की तटबन्ध निर्माण गर्दा दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्र बाढीको उच्च जोखिममा परिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाएको विरोध गर्दा भारतीय पक्षबाट भएको ढुंगा प्रहारबाट आइतबार मात्रै केही बालबालिका घाइते भएका छन् । सीमामा भारतले शृङखलाबद्धढंगले नेपालतर्फ क्षति हुने गरी गतिविधि गर्दा समेत नेपाल सरकारले निर्णायक पहल गर्नुको सट्ट मौन बसेको दार्चुलाबासीको गुनासो छ ।

पछिल्लो समय भारतले एकपक्षीय रूपमा नेपाललाई क्षति पुग्ने गरी महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर तटबन्ध निर्माण गरिरहेको छ । नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गरेको भन्दै स्थानीयले नेपाल–भारत जोड्ने झोलुङे पुलमा आइतबार तालाबन्दी गरेका थिए । गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्सट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने गरी काम थालेको भन्दै दुर्वतर्फबाट ढुंगा हानाहान भएको थियो ।
ढुंगा लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह तथा भारततर्फ एक जना डोजर चालक नेपाली घाइते भएका छन् । तटबन्ध निर्माणको विषयमा भारतले बलमिच्याइँ गर्न थालेपछि सीमामा तनाव भएको स्थानीय सुरेशसिंह ठगुन्नाले बताउनुभयो । आइतबार दुबैतर्फबाट ढुगां हानाहान भएपछि सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । पुल बन्द भएर वारिपारि स्थानीय रोकिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारतीय पक्षसंग छलफल गरेपछि सीमा पुल खुलाइएको थियो ।

नेपाल र भारतीय अधिकारी विच छलफल
भारतले निर्माण गरिरहेको तटवन्धका विषयमा दुई देशका अधिकारी बिच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको छ । आईतवार दुबै देशका नागरिक बिच तटवन्धको विषयलाई लिएर ढुंगा हानाहान भएपछि समस्या समाधानका लागि छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । छलफलमा तटबन्ध निर्माण गर्दा दुबै देशलाई कुनै क्षति नहुने गरी काम गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधिन तटबन्ध भन्दा सात देखी १० मिटर नेपालतर्फ आएर बिच नदीमा ग्याविन जाली लगाएको छ । ग्याविन जाली हटाएर सहमतिमै तटबन्ध निर्माण कार्य अगाडी बढाउने सहमति भएको उहाँको भनाई छ ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले खलंगा बजार जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहँदा सरकार मूकदर्शक बनेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो । पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान हुँदा समेत वार्ताबाट समस्या समाधान गर्न कूटनीतिक पहल नगरी सरकार रमिते बनेकाले अप्रिय घटनाको जोखिम बढेको उहाँको भनाई छ ।

सीमा क्षेत्रमा संरचना निर्माण लगायत गतिविधि गर्दा दुबै देशबिच समन्वय गर्ने सहमति पटकपटक भएपनि भारतले कार्यान्वयन गर्ने गरेको छैन् । अब माथिल्लो भागमा संरचना बनाउँदा परामर्श गर्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ । दार्चुलामा अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणको विषयबाहेक सदरमुकाम लगायत सीमा क्षेत्रमा दर्जनौँ ज्यादतीका घटना सामना गर्नुपरेको जिल्लाबासीको गुनासो छ । सोमबार बिहान मात्रै भारतीय सुरक्षाकर्मीबाट आधारकार्ड भएका बाहेक नेपालीलाई सीमा क्षेत्रमा आवतजावत गर्न नदिने धम्की आएको स्थानीयले बताएका छन् । सधै विहान सात बजे खुल्ने खलंगा सीमा पुल सोमबार दुई घण्टा ढिलो गरी नौँ बजेपछि मात्रै खोलिएको थियो । तटबन्ध निर्माण लगायत सीमा क्षेत्रका समस्या समाधानको माग गर्दै एमाले निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र पेश गरेको छ भने सीमामा ज्यादती हुँदा समेत सरकार मुखदर्शक बनेको भन्दै जनताहरु आक्रोशित बनेका छन् ।

आइतबार भएको लफडाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?