सगरमाथाको चुचुरोमा छाउपडी अन्त्यको सन्देश लैजाने पहिलो बझाङी सङ्गीता

दार्चुला । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्यको सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्।

छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्।

सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन्।

बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन्। उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन्।

वर्षौंदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उहाँका आँखा रसाए।

‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँशु थाम्न सकिनँ’, उनी भन्छिन्, ‘छाउपडी प्रथा अन्त्य गरौं’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन्।

रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल ९सात हजार ३१ मिटर० आरोहणको प्रयास गरेकी थिइन्।

टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए। तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरू साइपाल चढ्न सकेनन्।

साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो।

शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन।

‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्‍यो।’

मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो।

उनले भनिन्, ‘खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे।’

एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन्। सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको उनले बताइन्। रासस

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?