दार्चुला । कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो।
हिजो पालिकामा १२औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरेको बताइएको छ।
हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी गरिएको थियो। तर कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुने बेला केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनुभयो । उहाका अनुसार स्थानीयको आक्रमणबाट अध्यक्ष उपाध्यायसहित उपाध्यक्ष कमल साउद, वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका छन्।
स्थानीयले झडपका क्रममा ढुंगामुढा पनि गरेको थिए । यता, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ५ वर्षदेखि गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खिमडीमा रहेको र हिजोको गाउँ सभाले वडा नम्बर १ भकुण्डेटार सार्ने निर्णय गरेपछि झडप भएको जनाएको छ।
बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिएकाले हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेको बुझिएको छ। स्थानीयले कार्यालयमा समेत क्षति पुर्याएका छन्। राति स्थानीय र जनप्रतिनिधिहरुको लफडा भएपछि भागाभागको स्थिति बनेको थियो।
गाउँ सभामा आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ। तर बजेट पारित हुन बाँकी छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया