दार्चुला । डोटीमा प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसको कार्यालय स्थापना गरिएको छ । प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसका लागि आधिकारिकता पाएसँगै सोमबार (हिजो) क्याम्पसको आधिकारिक कार्यालय पनि स्थापना गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उनले नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा स्नातक तहको इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने भन्ने व्यवस्था भएको र सोही अनुसार सुदूरपश्चिम प्रदेश स्तरको क्याम्पस डोटीमा स्थापना हुन लागेको बताउनुभयो । असार १२ गते बसेको त्रिभुवन विश्वविद्यालयको सभाले उक्त क्याम्पसको नाम खप्तड क्याम्पस स्वीकृत गरिसकेको पनि पौडेलले बताउनुभयो ।
अब पूर्वाधार निर्माणको काम अघि बढ्ने बताउँदै पौडेलले हाललाई चार करोड ५० लाख बजेट विनियोजन भएको र यसले क्याम्पसको गुरुयोजना बनाउने र जग्गा सम्याउने काम हुने बताउनुभयो । कक्षाकोठा, प्रयोगशाला, प्रशासनिक भवन बिस्तारै निर्माण हुने उहाले बताउनुभयो ।
हाललाई जिल्ला समन्वय समिति डोटीको भवनमा कार्यालय स्थापना गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




