दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ टिंकरस्थित चीनसँगको सीमाक्षेत्र छायालेकमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहालले शुक्रबार बिओपीको उद्घाटन गर्नुभयो । दार्चुला सदरमुकाम खलंगाबाट करिब ११२ किलोमिटर उत्तरतर्फ टिंकरमा सशस्त्रको बिओपी उद्घाटन गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म छाङरु दार्चुलाको मातहतमा स्थापना भएको टिंकर बिओपी गुल्मबाट करिब ११ किलोमिटर दूरीमा छ । टिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौँ र भारततर्फ २४३ गरी बिओपीको संख्या देशभर २५२ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
टिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाका लागि गत वर्ष एउटा भवन निर्माण गरिएको थियो । हेलिकोप्टरबाट यहि भदौ १३ गते आवश्यक बन्दोबस्ती र जनशक्ति पु¥याइएको थियो । यहि भदौ २० गते बिओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल जिल्लास्थित सुरक्षा अधिकारी लगायत टिंकर पुगेका थिए । उद्घाटनमा गएका जनप्रतिनिधिलाई भने भारतीय एसएसबीले दुव्र्यवहार गर्दै बाटोबाटै फर्काएको थियो ।
नेपाली जनप्रतिनिधिमाथि एसएसबीको दुर्व्यवहार, प्रशासनद्धारा गल्ती स्वीकार
गत भदौ २० गते सशस्त्र प्रहरीको टिंकर छायालेकमा स्थापना भएको बिओपीको उद्घाटनमा जाने क्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिर, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी र विद्यार्थी नेता दिपक खातीलाई भारतीय एसएसबीले तिगरमबाट फर्काएको थियो । भारतीय एसडिएम कार्यालयकै अनुमति लिएर गएका जनप्रतिनिधिलाई एसएसबीले फर्काएपछि जनप्रतिनिधिले आफुहरु रोक्नुको कारण दार्चुला प्रशासनमार्फत भारतीय प्रशासनसँग माग गरेका थिए । भारतीय प्रशासनबाट बहुयात्रा अनुमति लिएर जाँदा पनि धार्चुलाबाट १४ किलोमिटर माथि तिगरमबाट नियोजित ढंगले फर्काइएको नगरप्रमुख चैसीरले बताउनुभयो । सशस्त्र प्रहरी नायव अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी एसपीद्धय बीरसिह साहुँ, डम्मर बहादुर विष्ट, अनुसन्धान अधिकृत लगायत दर्जनौ सुरक्षाकर्मी समेत टोलीमा सहभागि थिए । जनप्रतिनिधिको जस्तै अनुमतिपत्र भएका अरुलाई जान दिएर राष्ट्रियता र सीमा सुरक्षाको विषयमा बोल्ने जनप्रतिनिधि र नेतालाई बाटोबाट फर्काइएको हो ।
सुरक्षाकर्मीसँगै जादा जनप्रतिनिधिको अपमान भएको भन्दै रोक्नुको स्पष्ट कारण नआएसम्म धापको काकडामा निर्माण भइरहेको मोटेरवल पुल निर्माणमा रोक लगाउने जनप्रतिनिधिले चेतावनी दिएका थिए । महाकाली नगर प्रमुख चैसिरले भन्नुभयो, नेपाली माथि भारतीय बाटो प्रयोग गर्दा अपमान, दुव्र्यवहार हुन्छ भने पुल निर्माण गर्नुको अर्थ छैन् । जनप्रतिनिधिमाथी भारतीय सशस्त्र सीमा बल एसएसबीबाट भएको दुव्र्यवहारबारे स्पष्ट जवाफ नआएसम्म पुल निर्माणमा अवरोध गर्ने चेतावनीपछि भारतीय पक्ष वार्तामा आएको छ । बुधबार पुलको काम रोकेपछि भारत उत्तराखण्ड अन्तर्गत धारचुला उपजिल्ला अधिकारी (एसडिएम) दिपेश शासनीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आएर सरोकारवालासंग वार्ता गर्नुभएको हो ।
नगर प्रमुख चैसिरले बुधबार साङकेतिक रुपमा पुल निर्माण कार्य रोक्न निर्माण कम्पनीसँग आग्रह गर्नुभएको थियो । पुल निर्माण कार्य रोकिएको दुई घण्टा पछि भारतीय प्रशासन वार्ता गर्न आएको हो । भारतीय पक्षले सुरुमा धारचुलामा बैठक बस्नुपर्ने प्रस्ताव गरेपनि नेपालका जनप्रतिनिधिले अस्वीकार गरेपछि एसडिएम दार्चुला प्रशासनमा आउनुभएको हो । बैठकमा भारतीय एसडिएम शासनीले त्यो दिन सञ्चारमा समस्या भएकै कारण एसएसबीबाट गल्ती हुन पुगेको स्वीकार गर्नुभयो । मिस कम्युनिकेशनको कारण त्यो समस्या भयो, नहुनुपर्ने भयो, बैठकमा भारतीय अधिकारीले भनेका कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले भन्नुभयो, अब यस्ता समस्या हुन दिदैनौं बैठकमा भनेका छन् । बैठक सौहार्दरुपमा सकिएको सहभागिहरुले बताएका छन् । बैठकमा सहभागि जनप्रतिनिधिका अनुसार एसडिएम शासनीले त्यो दिन आफुहरु कार्यालयमा नभएको र बाहिर भएको अवस्थामा सञ्चार सम्पर्क नहुँदा समस्या भएको जवाफ दिनुभएको थियो । भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बैठकमा सहभागि विद्यार्थी नेता दिपक खातीले बताउनुभयो ।
बैठकमा सहभागि नगर प्रमुख नरसिह चैसिर, अध्यक्ष मंगलसिह धामी, विद्यार्थी नेता दिपक खातीले आफुहरुलाई बीना कारण एसएसबीबाट रोक लगाएकोमा आपत्ति जनाउनुभएको थियो । रोटी बेटी सम्बन्ध भन्ने तर सीमामा जनप्रतिनिधिलाई समेत अपमान गर्ने काम भारतको तर्फबाट भयो, बैठकमा सहभागि एक जनप्रतिनिधिले भन्नुभयो, यस्तो अवस्थामा बाकी पुल निर्माणको औचित्य के हुन्छ । जनप्रतिनिधिलाई यस्तो व्यवहार हुन्छ भने हाम्रा जनताहरु कसरी हिड्लान् जनप्रतिनिधिले बैठकमा भनेका थिए । भारतीय पक्षले गल्ती नदोहोर्याउने गरी अगाडी बढ्ने प्रतिवद्धता जनाएपछि बैठक सकिएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





